काठमाडौं, साउन ७ :

साताको चौथो कारोबार दिन आज (बुधबार) पनि सेयर बजारमा उकालो यात्रा कायमै छ । ५.१७ अंकले बढेको नेप्से आज २९७८.८८ विन्दुमा रोकिएको छ ।

यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने ०.१५ अंकले घट्दै ५१६.८२ अंकमा झरेको छ ।

नेप्सेमा आज ३१९ वटा कम्पनीको एक लाख ७० हजार ३१८ पटकको कारोबारमा चार करोड ४८ लाख ६६ हजार १५९ कित्ता सेयर किनबेच भए । जसअनुसार आज १९ अर्ब ५७ करोड ५२ लाख ७० हजार ५५७ रुपैयाँबराबरको कारोबार भएको छ ।

सामान्य बढेको सेयर बजारमा आज ९८ कम्पनीको मात्र सेयर मूल्य बढ्दा १५२ वटा कम्पनीको मूल्यमा गिरावट आयो । नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा ६ वटा समूहको सूचक घट्दा सात वटा समूहको सूचक मात्र बढेको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा ट्रेड टावर लिमिटेड परेको छ । यसको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्यो । जसअनुसार ट्रेड टावरको अन्तिम सेयरमूल्य प्रतिकित्ता ५८९.३० रुपैयाँ कायम रह्यो ।

बढी गुमाउने कम्पनीको सूचीमा भने पहिलो स्थानमा भूगोल इनर्जी कम्पनी लिमिटेड परेको छ । यसको अन्तिम सेयर मूल्य ७६२.३७ रुपैयाँ कायम छ ।

नेप्सेमा आज हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कारोबार सर्वाधिक भएको छ । हिमालयन रिइन्स्योरेन्सको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १,०७६ रुपैयाँमा रह्यो । यसको ७८ करोड १० लाख २८ हजार ४३३ रुपैयाँको सेयर कारोबार भएको छ ।