
प्रधानमन्त्री केपी ओलीले कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल सही विचार, गतिशील संगठन र समर्पित नेतृत्वका धनी रहेको धारणा राखेका छन् । उनले समाज बदल्ने सपना बोकेकाहरुले पुष्पलालका विचारलाई अनुशरण गर्नुपर्नेमा जोडसमेत दिए ।
नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा बुधबार आयोजित ४७औं पुष्पलाल स्मृति दिवसको कार्यक्रममा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग गएर घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै नगरेको स्पष्ट गरे ।
‘पुष्पलाल आदर्शप्रति सधैं दृढ रहनुभयो । उहाँका केही सीमाहरु थिए होलान् तर विचार र काममा उहाँ अग्रणी हुनुहुन्थ्यो । उहाँ साँच्चैको क्रान्तिकारी व्यक्ति हुनुहुन्थ्यो,’ ओलीले भने, ‘जात र धर्मबाट उहाँ माथि हुनुहुन्थ्यो । आफ्नो थरमा श्रेष्ठ लेख्नुभएन । नेपालमा कम्युनिस्टहरुको संगठनलाई गतिशील रुपमा हाँक्न सक्ने नेता हुनुहुन्थ्यो । उहाँ सही विचार र समर्पित नेतृत्व भएको व्यक्ति हुनुहुन्थ्यो । उहाँकै लिगेसी बोकेको एमालेका नेता कार्यकर्ताले ती पक्षहरुलाई बिर्सन मिल्दैन ।’
१९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलालले नै कार्लमार्क्स फ्रेडरिक एंगेल्सद्वारा लिखित ‘कम्युनिस्ट घोषणापत्र’ लाई पहिलोपटक नेपाली भाषामा अनुवाद गरेका थिए । उनकै नेतृत्वमा नेपालमा पहिलोपटक २००६ वैशाख १० गते नेकपा स्थापना भएको थियो । उनको २०३५ साउन ७ गते उपचारका क्रममा भारतमा निधन भएको थियो ।