काठमाडौं, साउन ९ :

कुनै बेला मुग्लिङ-पोखरा सडक यात्रा अत्यन्त कष्टकर हुने गर्थ्यो । हिजोआज मुग्लिङ-पोखरा सडकखण्डको यात्रा आनन्ददायी छ । मुग्लिङबाट पोखरा पुग्न धेरै कष्ट खेप्नु पर्दैन । अहिले सो सडकखण्डको धेरै काम सकिएको छ भने अझै पनि केही पुलहरु बन्ने क्रममा छन् ।

मुग्लिङ-पोखरा सडक पूर्वीखण्डका योजना प्रमुख प्रकाशचन्द्र भण्डारी मुग्लिङ-पोखरा सडक पूर्वीखण्डस्थित मादी नदी नेपालकै पहिलो चारलेनको ठुलो पुल बनिरहेको बताउँछन् । उनका अनुसार त्यो पुलको लम्बाइ ३१८ मिटरको चार लेनको पुल बन्दै छ ।

‘चार लेन गाडी कुद्ने नेपालको पहिलो पुल हो । नेपाल सरकारले पुलको डिजाइन गरेपछि निर्माणकर्ताले फेरि डिजाइन गरेको हो । डिजाइनको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीकै हो,’उनले भने, ‘मर्मत-सम्भार अवधि ५ वर्षको हो । यसको सम्झौता रकम एक अर्ब २१ करोड हो । पुलको ७१ प्रतिशत वित्तीय प्रगति भएको छ ।’

प्रमुख भण्डारीका अनुसार नेपाली ठेकेदारले डिजाइन गरेर पहिलोपटक चार लेनको पुल बनाइरहेको छ । ७ सेप्टेम्बर २०२२ मा यो पुल बनाउन सम्झौता भएको थियो ।

६ सेप्टेम्बर २०२५ मा पुल निर्माणको समय सकिँदै छ । सम्झौता भएको १३ महिनापछि डिजाइन स्वीकृत भएको  र आजको दिनमा ७१ प्रतिशत वित्तीय प्रगति सकारात्मक रहेको भण्डारीले बताए । उनकाअनुसार मनसुन सुरु भइसकेकाले पुलको बीचको भागको काम अघि बढाउन कठिन भइरहेको छ ।

खोलाको बहाव बढ्ने र ठेक्काहरु बगाउने भएकाले पुलको बीचको काम मनसुन सकिएपछि अब अघि बढ्नेछ । आगामी पुस-माघसम्ममा पूर्ण रुपमा पुल सम्पन्न हुने आशा छ । यो पुलको काम नेपाली निर्माण कम्पनी एनके निर्माण सेवाले गरिरहेको छ ।

डिजाइन स्वीकृत हुन ढिलाइ हुनु, निर्माण सामग्रीको अभावले गर्दा पनि काम समयमै नसकिएको निर्माण व्यवसायी बताउँछन् । उनीहरुका अनुसार डिजाइन स्वीकृत गर्दा आठवटा जग्गा र त्यत्ति नै घरहरुको प्रभावित हुने भएपछि मुआब्जा वितरण गरिसकिएको छ ।

नेपालमै पहिलोपटक चारलेनको अत्याधुनिक प्रविधिको बन्नु निर्माणकर्तालाई समेत गर्वको विषय रहेको उनीहरु बताउँछन् ।