काठमाडौं, साउन ९ :

गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेबीच कञ्चनपुरको मझगाउँ विमानस्थल पुनर्निर्माण एवं स्तरोन्नतिका विषयमा शुक्रबार गृह मन्त्रालयमा छलफल भएको छ ।

२०५६ यता बन्द रहेको मझगाउँ विमानस्थलको पुनर्निर्माण गरी चाँडो सञ्चालनमा ल्याउने विषयमा मन्त्री लेखक र पाण्डेबीच छलफल भएको हो । बैठकमा नागरिक उड्डयन प्राधिकरण, कर्पोरेट निर्देशनालयका उपमहानिर्देशक इन्जिनियर बाबुराम पौडेल लगायतको सहभागिता थियो ।

विमानस्थलको रनवे निर्माण, टर्मिनल भवन निर्माण, विद्युत् विस्तारलगायत विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । ‘विमानस्थल पुनर्निर्माण चाँडो सक्ने र अस्थायी रुपमा सञ्चालन गर्ने विषयमा सरोकारवाल अधिकारीसहितको उपस्थितिमा छलफल भएको हो,’ गृहमन्त्री लेखकका प्रमुख स्वकीय सचिव ईश्वरीप्रसाद जोशीले भने, ‘विमानस्थल पुनः सञ्चालन गृहमन्त्री लेखकको प्राथमिकता तथा निर्वाचनमा मतदातासामु गरेको प्रतिबद्धता पनि हो, त्यो पूरा हुने प्रक्रियामा छ ।’

मझगाउँ विमानस्थलको ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । चालु आर्थिक वर्ष ०८२/८३ मा विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि पाँच करोड र रनवे निर्माण गर्न १३ करोड ३० लाख रुपैयाँ बजेट संघीय सरकारले विनियोजन गरेको छ ।

‘बजेटको सीमितताबीच मझगाउँ विमानस्थल पुनर्निर्माण गर्न राम्रै बजेट विनियोजन गरेका छौं,’ पर्यटनमन्त्री पाण्डेले भने, ‘विमानस्थल पुनः सञ्चालनलाई प्राथमिकतामा राखेर अघि बढेका छौं ।’

मझगाउँ विमानस्थलको दीर्घकालीन महत्त्व रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले पुनर्निर्माण र पुनःसञ्चालन गर्न अब ढिलाइ गर्न नहुने बताए । ‘संघीय सरकारले विमानस्थलका लागि उचित बजेट सम्बोधन गरेको छ,’ उनले भने, ‘प्रदेश र स्थानीय सरकारले पनि विमानस्थल पुनर्निर्माणमा साझेदारी गरेका कारण काम द्रूतगतिमा अघि बढेको छ ।’

कञ्चनपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं गृहमन्त्री रमेश लेखककै पहलमा लामो समय गौचरनमा परिणत भएको मझगाउँ विमानस्थलले पुनर्निर्माणमा गति पाएको हो । ‘दक्षिणतर्फ नेपाली सेना र रत्न पाटिकाको जमिन विमानस्थलका लागि उपयोग गर्ने विषयमा विगतमा भएको विवाद समाधान भएर काम सुरु भइसकेको छ,’ गृहमन्त्री लेखकले भने, ‘विद्युत् विस्तार र सुरक्षा प्रबन्धका लागि पनि पहल भइसकेको छ ।’

केही दिनअघि विमानस्थलको स्थलगत निरीक्षण अवलोकनका लागि मझगाउँ पुगेका गृहमन्त्री लेखकले विमानस्थल पुनर्निर्माणमा कुनै समस्या नहुने बताएका थिए । १५ सय २५ मिटरको रनवे निर्माण गर्ने क्रममा नेपाली सेनाले १५० मिटर जमिन विमानस्थल विस्तारका लागि उपलब्ध गराइसकेको छ । रनवे निर्माण आगामी माघसम्म सक्ने गरी काम अघि बढेको मन्त्रालयले जनाएको छ ।