
नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले यथार्थपरक भएर जनताको हित हुनेगरी संविधान संशोधन हुनुपर्ने बताएका छन् ।
काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले जनताको हितअनुसार संविधान संशोधन हुँदै जाने बताए । अहिलेसम्मको संविधान कार्यान्वयनको समीक्षा गरेर संविधान संशोधन हुनुपर्ने उनको भनाइ छ ।
जनताको चाहना संविधानले सम्बोधन गर्न सक्नुपर्ने उनले बताए । संविधान कार्यान्वयनको समीक्षा गरेर आवश्यकताअनुसार संशोधन गर्ने कुरामा कांग्रेस र वर्तमान सरकार गम्भीर रहेको बताए ।
‘जनताको हितमा संविधान संशोधन हुँदै जान्छ । हामीले समग्र कुराको मूल्यांकन गर्नुपर्छ । संसद्ले गरेका क्रियाकलाप, संसद्ले बनाएका विधेयकहरु, संवैधानिक परिषद्ले गरेका निर्णयहरु, संवैधानिक निकायले गरेका कामहरु, काम कर्तव्य अधिकार निर्वाह गर्दा लिएको जिम्मेवारी, सबै तहका सरकारले गरेका कामहरुको एक पटक मूल्यांकन गर्न जरुरी छ,’ उनले भने, ‘संविधान कार्यान्वयनको एकपटक कार्यान्वयन गरौँ । यथार्थपरक भएर जनताको हितमा काम गर्न कतै वाधक भएको भए संविधान संशोधन गरौँ । जनताको चाहना संविधानले सम्बोधन गर्न सक्नुपर्छ । यो मार्गचित्रमा यो सरकार पनि छ र हाम्रो पार्टी पनि छ । संविधान कार्यान्वयनको समीक्षा गर्ने र आवश्यकताअनुसार संशोधन गर्ने नीति तथा कार्यक्रममा भनेका छौँ ।’
उनले मधेस प्रदेश अहिले सुक्खाग्रस्त भएको र सरकारले जनताको हितमा व्यापक काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।