काठमाडौं, साउन १० :

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले लुम्बिनीको संरक्षण र संवद्धर्नमा सबै लाग्नुपर्ने बताएका छन् ।

काठमाडौंमा शनिबार सुपोत महास्थथवीरलाई विश्व शान्ति विहार तथा नेपाली बौद्ध समुदायको धार्मिक अभिनन्दन कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् । सुपोत महास्थथवीरलाई थाइल्यान्ड सरकारले लुम्बिनीमा आएर गरेको धार्मिक र सामाजिक योगदानबापत सम्मान गरेको छ ।

सोही बारेमा नेपाली बौद्ध समुदायले पनि सम्मान गरेको हो । सुपोत महास्थथवीरले लुम्बिनीमा आएर धार्मिक र सामाजिक योगदानमा महत्त्वपूर्ण योगदान गरेको सिंहले बताए ।

‘आजको यो अभिनन्दन कार्यक्रम छ । जुन उहाँले लुम्बिनीमा आएर गर्नुभएको धार्मिक, सामाजिक योगदान गर्नुभएको छ । निरन्तर र अनवरत रुपमा योगदान गर्नुभयो । थाई सरकारले ज्यादै ठुलो सम्मान दिएको छ । बुद्धिजमअघि बढाउन र लुम्बिनीको संरक्षण गर्न आवश्यक छ,’ उनले भने ।

उपप्रधानमन्त्री सिंहले बुद्ध धर्म र लुम्बिनी एक-अर्काको पर्याय भएको पनि जनाए ।