काठमाडाैं, साउन १० :

 नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडी अक्सन साउन २४ गते हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको प्रतियोगिताको अक्सनका लागि ४५८ जना नेपाली खेलाडीले नाम दर्ता गराएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए।

खेलाडी दर्ता प्रक्रिया जुलाई १२ देखि २२ सम्म खुला गरिएको थियो। दर्ता भएका खेलाडीहरूको विवरण एनपीएलमा सहभागी ८ वटा फ्रेन्चाइज टोलीलाई उपलब्ध गराइएको छ।

क्यानको प्राविधिक समिति र फ्रेन्चाइज टोलीले तयार पारेको मापदण्डका आधारमा अन्तिम अक्सन सूची छानिने र त्यसपछि मात्र अक्सनमा सहभागी हुने खेलाडीहरूको नाम सार्वजनिक गरिने जनाइएको छ।