
लामो समयदेखि वर्षा नहुँदा खडेरीको चपेटामा परेको मधेस प्रदेशमा पानीको अभावसँग जुझिरहेका मुस्लिम समुदायले शनिबार वीरगन्जमा वर्षाका लागि विशेष प्रार्थना (इस्तिस्का नमाज) गरेका छन्।
वीरगन्ज महानगरपालिका–१७ अलौंस्थित इदगाहमा करिब ४ सय मुस्लिम समुदायका सदस्यहरू भेला भई सामूहिक रूपमा ‘इस्तिस्का’ नमाज पढ्दै अल्लाहसँग पानीका लागि दुवा गरे। उनीहरूले प्रार्थनाका क्रममा “हे अल्लाह, हामीलाई माफ गर र वर्षा गराइदिनुस्” भनेर गुहारे।
स्थानीय आशिक अन्सारीका अनुसार लगातारको खडेरीका कारण खेतबाली सुक्न थालेको, चापाकलहरू सुकेको र पिउने पानीसमेत अभाव भएकोले समुदायले धार्मिक विधिबाट पानीको माग गरेका हुन्।
“हामीलाई भगवान् अल्लाहमाथि भरोसा छ, उहाँले हाम्रो दुवा स्वीकार गरी चाँडै वर्षा गराउनुहुनेछ,” अन्सारीले बताए। सुक्खा र खडेरीका कारण मधेसका जिल्लामा जनजीवन प्रभावित बनेको छ भने कृषिमा गम्भीर असर पर्न थालेको छ।