
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सामुदायिक विद्युत् उपभोक्ता महासंघलाई ठुला आयोजनामा लगानी गर्न आग्रह गरेका छन् ।
सामुदायिक विद्युत् उपभोक्ता महासंघको २१औं स्थापना दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा शुभकामना दिँदै उनले करिब तीन सय संस्था आबद्ध नेपाल विद्युत् उपभोक्ता महासंघले सबै संस्थाहरूबाट रकम एकीकृत गरी ठूलो परियोजना सञ्चालन गर्नसक्ने दाबी गरे ।
उनले लगभग शतप्रतिशत विद्युत् पुगेको भन्दै अबको आवश्यकता गुणस्तरीय सेवा भएको बताए । चौबीसै घण्टा विद्युत् आपूर्ति गर्नुपर्ने दबाब र चाहना रहेको उल्लेख गर्दै उनले आवश्यक पर्ने विद्युत् आफैं उत्पादन गरेर खपत गर्ने र बढी भएको निर्यात गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा साथ दिन आग्रह गरे । यसका लागि ठुला आयोजनामा लगानी गर्न उनको सुझाव थियो ।
‘हामीलाई पनि दबाब छ, चुनौती छ, चाहना पनि छ सरकारको । चौबीसै घण्टा विद्युत् आपूर्ति गर्न सक्ने । हामीलाई आवश्यक पर्ने विद्युत् हामी आफैं उत्पादन गरेर खपत् गर्ने र बढी भएको विद्युत् निर्यात गरेर मुलुकलाई समृद्ध बनाउने,’ उनले भने, ‘आजको आवश्यकतामा नयाँ खोजी के त ? यत्रो ठुलो समुदायको शक्ति नै भइसकेको हुँदा नयाँ खोजीतिर लाग्ने । त्यसको अध्ययन गर्ने, काम सुरु गर्ने । अर्थात् कुनै ठुलो आयोजना नै हामी मिलेर सञ्चालन गर्नसक्छौँ र लगानीको विषय पनि बन्छ । यति धेरै संस्थाहरू आवद्ध भइसकेपछि यसो किन नगर्ने ?’
मन्त्री खड्काले देशको आवश्यकताअनुसार महासंघले आफूलाई बदल्नुपर्ने र नयाँ खोजी गर्नुपर्नेमा जोड दिए । पुरानै कुरामा अल्झिएर नबस्न पनि महासंघसँग उनको आग्रह थियो । सबै मिलेर लगानी गर्न सके ठुलो परियोजना सञ्चालन हुने र सरकारको समृद्धिको चाहनामा मद्दत पुग्ने उनको विश्वास छ ।