काठमाडौं, साउन १३ :

नेपाल राष्ट्र बैंकले दुई अर्ब ९२ करोड विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा राख्ने तयारी गरेको छ ।

नेपाल राष्ट्र बैंक, वित्त व्यवस्थापन विभागले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूका लागि कुल अर्ब ९२ करोड बराबरको लगानी प्रस्ताव खुला गरेको हो । प्रस्तावअन्तर्गत, वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंक, तथा राष्ट्रियस्तरका वित्त कम्पनीहरूले तोकिएको रकमको लागि प्रतिस्पर्धात्मक प्रस्ताव पेस गर्न सक्नेछन् ।

राष्ट्र बैंकले लगानीका लागि ‘क’ वर्गका वाणिज्य बैंकलाई दुई अर्ब ३४ करोड तोकेको छ भने ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंक ४३ करोड ६७ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनी १४ करोड ६२ लाख मुद्दती निक्षेपका रुपमा लिन सक्नेछन् ।

लगानी प्रस्तावका सर्तहरूसमेत राष्ट्र बैंकले तोकेको छ । बैंक तथा वित्तीय संस्थाहरुका लागि तोकिएका त्यस्ता सर्तमा प्रस्ताव पेस गर्न चाहने बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको वेबसाइटमा प्रकाशित सूचना तथा यसमा उल्लेख गरिएका सम्पूर्ण सर्त पूरा गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाको कायम पुँजी न्यूनतम पुँजीको अनुपात बर्फरसहित कायम गरिएको हुनुपर्ने, निष्क्रिय कर्जा (एनपीएल) अनुपात ८ प्रतिशत र खुद निष्क्रिय कर्जा (खुद एनपीएल) अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्नेछ ।

खुद तरल सम्पत्ति अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको, कर्जा निक्षेपको अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको, निकटतम अघिल्लो आर्थिक वर्षको नाफा नोक्सान हिसाबअनुसार खुद मुनाफामा रहेको, बैंक तथा वित्तीय संस्था शीघ्र सुधारात्मक कारबाहीमा परेको भए यस्तो कारबाही फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्नेछ ।

राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ (ख) बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको, समस्याग्रस्त घोषणा भएको भए यस्तो कारबाही फुकुवा भएको ६ महिना अवधि पूरा भएको, सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्नेछ ।

राष्ट्र बैंकका अनुसार साउन ११ गतेसम्म विभिन्न कोषहरूमा उपलब्ध रकमलाई राष्ट्र बैंकले लगानी गर्न चाहेको हो । प्रस्ताव पेस गर्न चाहने बैंक तथा वित्तीय संस्थाहरूले तोकिएको ढाँचामा आवश्यक विवरणहरू भरेर इमेलमार्फत पठाउनु पर्नेछ ।

राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार प्रस्ताव पेस गर्ने अन्तिम म्याद साउन १५ गते राति १२ बजेसम्मलाई तोकिएको छ । यो लगानी सन् २०२५ अगस्त ११ देखि २०२६ अगस्त ११ सम्म ३६६ दिनका लागि हुनेछ ।