
बागमती प्रदेश सरकारका नवनियुक्त ३ मन्त्रीको शपथ अचानक रोकिएको छ ।
आज (बिहीबार) पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भए पनि प्रदेश प्रमुखको कार्यालयले अकस्मात् अनिश्चितकालका लागि भन्दै नवनियुक्त मन्त्रीको शपथ स्थगन गरेको हो ।
विवादै-विवादबीच मुख्यमन्त्री बहादुरसिंह लामाले हिजो (बुधबार) ३ मन्त्री नियुक्ति गरेका थिए ।
प्रदेश प्रमुखको कार्यालयले बिहीबार बिहान विज्ञप्ति जारी गर्दै नवनियुक्त मन्त्री गोविन्द लम्साल (आन्तरिक मामिला तथा कानुन), गीता गुरुङ (सहकारी तथा गरिबी निवारण) र माया श्रेष्ठ (युवा तथा खेलकुद) को शपथ आज नहुने जनाएको हो ।
‘बागमती प्रदेश सरकारका नवनियुक्त माननीय मन्त्रीज्यूहरूको शपथ ग्रहण समारोह मिति २०८२ श्रावण १५ गते बिहीबार दिनको १ बजेको लागि तोकिएकोमा माननीय प्रदेश प्रमुखज्यूको स्वास्थ्यमा अकस्मात् समस्या आएकोले उपचारार्थ आज बिहानै काठमाडौँ प्रस्थान गर्नुभएको हुँदा माननीय प्रदेश प्रमुखज्यूको निर्देशानुसार अर्को सूचना प्रकाशन नभएसम्मको लागि शपथ ग्रहण कार्यक्रम हाललाई स्थगन गरिएको बेहोरा जानकारीका लागि अनुरोध छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ ।
आफूलाई कांग्रेसको बागमती संसदीय दलको नेताबाट हटाउन आफ्नै पार्टीका पाँच मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्री लामाले बुधबार ३ मन्त्री नियुक्ति गरेका थिए ।
बागमती कांग्रेस संसदीय दलमा बुधबार भएको निर्वाचनमा इन्द्रबहादुर बानियाँ दलको नेतामा विजयी भए भने मुख्यमन्त्री लामा पराजित भएका छन् ।