सर्लाही, साउन १८ :

लामो समय पानी नपर्दा चिन्तित मधेसका किसानलाई वर्षाले राहत मिलेको छ । पानी नपर्दा झन्डै ५० प्रतिशत धान रोपाइँ बाँकी रहेको अवस्थामा पानी परेपछि राहत मिलेको हो ।

मधेसमा पानीको अभावमा खेत सुकेका थिए ।  धान रोप्ने अवस्था थिएन । तर गएराति परेको पानीले किसानहरुमा पहेँलिएका बिउ रोप्न पाउने आशा पलाएको छ, यद्यपि अझै पर्याप्त पानीको अभाव छ । 

सिरहाको दक्षिणी भू-भागमा भूमिगत पानीको प्रयोग गरी रोपाइँ गरिए पनि उत्तरी भेगका अधिकांश किसानले रोपाइँ गर्न सकेका थिएनन् । कृषि ज्ञानकेन्द्र सिरहाका अनुसार गत शुक्रबारसम्मको रेकर्ड अनुसार जिल्लामा ५० प्रतिशत मात्र धान रोपाइँ भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ सरिरहेको छ । यही कारणले केही स्थानमा हल्कादेखि मध्यम वर्षामापन गरिएको छ । तर यो प्रणाली लामो समय भारततर्फ सक्रिय रहेको हुँदा मधेसमा सुख्खा रहेको विभागले जनाएको छ ।

विभागको विगत २४ घण्टामा मधेसका विभिन्न स्थानमा हल्कादेखि मध्यम मात्राको वर्षा मापन गरिएको छ । सिरहालगायत तराई जिल्लामा बाँकी खेतमा रोपाइँ सम्पन्न गर्न अझै केही दिन निरन्तर पानी पर्ने आवश्यकता देखिएको छ ।

वर्षाले सर्लाहीका दक्षिणी क्षेत्रका किसानलाई पनि खुसी बनाएको छ । लगातार रुपमा पानी परेपछि यहाँका किसान धान रोप्न व्यस्त छन् ।साउनको दोस्रो सातासम्म पानी नपर्दा अधिकांश किसानका खेत बाँझै थियो । कृषि ज्ञान केन्द्र मलंगवाका अनुसार अहिलेसम्म ६६ प्रतिशत मात्र खेतमा रोपाइँ भएको छ ।