काठमाडौं, साउन १८ :

पतञ्जलि योगपीठका नेपाल प्रमुख शालिग्राम सिंह विशेष अदालतले मागे बमोजिम ३५ लाख रूपैयाँ धरौटी बुझाएर छुटेका छन्। 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले आइतबार रिहाइका लागि ३५ लाख धरौटी माग गरेको थियो । यसअघि सोही प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि त्यति नै धरौटी बुझाएर छुटेका थिए।

माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले २०६६ माघ १८ गते पतञ्जलि योगपीठलाई हदबन्दीभन्दा बढीको जग्गा राख्न छुट दिने निर्णय गरेको थियो। सोही निर्णयका कारण कानुन मिचिएको आरोपमा पूर्वकानुनमन्त्री प्रेमबहादुर सिंहसहित अन्य पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा लागेको छ।

पतञ्जलिलाई दिएको विशेष छुटबारे अख्तियारले अनुसन्धान थालेपछि सरकारी निर्णय प्रक्रियामै अनियमितता भएको भन्दै दोषीहरूमाथि मुद्दा चलाइएको हो।