
सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन सम्भवत सोमबारको प्रतिनिधिसभामा पेस गर्ने तयारी गरेको छ ।
समितिका सभापति जीवन परियारले समितिलाई प्राप्त जिम्मेवारी र कार्यादेशमा केन्द्रित भएर अनुसन्धान प्रतिवेदन अन्तिम रुप दिने कार्यमा जुटेको जानकारी दिए ।
उनले भने, ‘प्राप्त जिम्मेवारीलाई लगभग अन्तिम चरणमा पुर्याएका छौं । अध्ययनका क्रममा त्रुटि कसरी भयो, के कस्ता कारण छन्, प्रतिवेदन लेखन कसरी अघि बढेको थियो भन्नेबारे राज्य व्यवस्था समिति र उपसमितिमा भएका प्रक्रियाको समग्र अध्ययन गरी प्रतिवेदनमा तथ्यगत विश्लेषण गरिएको छ ।’
प्रतिनिधिसभाले गत असार २३ गते उच्चस्तरीय छानबिन विशेष समिति गठन गरेको थियो । त्रुटि कसरी हुन्छन् भविष्यमा यस्ता त्रुटि हुन नदिन विशेषज्ञसँग परामर्श गरेर प्रतिवेदन तयार गर्ने कोसिस गरिएको उल्लेख गर्दै सभापति परियारले संसद्मा विधेयक निर्माणको सन्दर्भमा हुने गरेको यस प्रकारका गतिविधि आगामी दिनमा हुन नदिन कमीकमजोरीलाई सच्याउन सरोकारवाला व्यक्तिसमेत विभिन्न कोणबाट छलफल गरिएको बताए ।
सभापति परियारले भने, ‘कतिपय विषयमा प्रक्रियागत ढङ्गबाट पनि सोच्नपर्ने रहेछ भन्ने निष्कर्ष निकाल्दैछौं । विगतमा पनि यस्ता कमीकमजोरी नभएका होइन, भएका थिए होलान् तर यो खालको त्रुटि थिएन र अब पनि नहोस् भन्ने हाम्रो चाहना रहेकाले अहिलेसम्म भएगरेका विषयका धारणा प्रतिवेदनमा समेटिनेछ । आगामी दिनमा प्रतिवेदन र विधेयक लेखनका लागि महत्वपूर्ण सुझाव सामग्री रहनेछ ।’