काठमाडौं, साउन १९ :

नेकपा एमालेका सांसद अमृतलाल राजवंशीले शुक्लाफाँट राष्ट्रिय निकुञ्ज र कोसी टप्पु वन्यजन्तु आरक्षका जनतालाई रातारात उठाएर अव्यवस्थित बनाइएको बताएका छन् ।

भूमिसम्बन्धी विधेयकमा सोमबार भएको छलफलमा उनले निकुञ्जका नाममा सरकारले नै जनतालाई भूमिहीन बनाएको बताएका हुन् । त्यहाँका जनताले भोगचलन गरिरहेको नम्बरी जग्गाबाट उठाएर अहिले अव्यवस्थित टहरोमा राखिएको उनको भनाइ छ ।

निकुञ्जले त्यहाँका जनतालाई पानी, बिजुलीको सेवासमेत उपलब्ध नगराएको बताउँदै घर-टहरा चुहिने अवस्थामा पुग्दासमेत नहेरेको उनले आरोप पनि लगाए । पीडितहरुको पक्षमा भूमि विधेयक बनाएर उनीहरुलाई राम्रो ठाउँमा स्थानान्तरण गर्नसमेत उनले माग गरे ।

‘शुक्लाफाँट र कोसी टप्पुका जनतालाई रातारात उठाएर अव्यवस्थित बनाइयो । निकुञ्जले कुनै सुविधा दिएन । उनीहरुले बनाएको घरटहरा कुहिने अवस्था छ,’ सांसद राजवंशीले भने, ‘सरकारले नै जनतालाई नम्बरी जग्गाबाट उठायो । पीडितहरुको पक्षमा विधेयक बनाएर उनीहरुलाई राम्रो ठाउँमा स्थानान्तरण गरियोस् ।’

उनले हाल सरकारले बनाएको भूमि आयोगले काम गर्न नसक्ने पनि बताए । भूमि आयोगलाई काम गर्न नदिएर हातखुट्टा बाँधेर राख्ने काम भएको उनको भनाइ छ ।