
राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले आफू सधैं कुलिङ पिरियडको पक्षमा रहेको बताएका छन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले समितिले पठाएको रिपोर्टमा कतै पनि आफ्नो नाम उल्लेख नभएको स्पष्ट पारे । आफूले हस्ताक्षर गरेको प्रतिवेदनमा कुलिङ पिरियड रहेको तर बीचमा कतै हटाइएको उनले दाबी गरे । कुलिङ पिरियड राष्ट्रिय सभाले सच्याउनुपर्ने बताए ।
‘पहिला समितिले पठाएको रिपोर्ट हेर्नुस् । कसको कसको त्रुटि भयो, नाम कसको कसको उल्लेख गरेको छ, त्यसपछि कुरा गरौँ । कुलिङ पिरियड रहनुपर्छ भन्ने पक्षमा म छु । समितिले कतै रामहरि खतिवडाको नाम लिएको छ भने भन्नुहोला,’ उनले भने, ‘सभापतिको हस्ताक्षर छ, मैले हस्ताक्षर गरेकामा कुलिङ पिरियड छ, त्यो कहाँ त्रुटि भयो छानबिन गर भनेर मेरै अनुरोधमा छानबिन भएको हो ।’ कुलिङ अफ पिरियड छेडखानीविरुद्ध गठित संसदीय छानबिन समितिले आज (मंगलबार) प्रतिवेदन प्रतिनिधिसभामा प्रस्तुत गरेको छ ।