
काठमाडौं, साउन २१ :
प्रथम इन्डियन ओपन वर्ल्ड एथलेटिक्स ब्रोन्ज कन्टिनेन्टल टुरमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली आज (बुधबार) भारतको उडिसा प्रस्थान गरेको छ ।
अगस्त १० तारिखमा हुने प्रतियोगिताको पुरुषमा आदेशकुमार यादव, सोमबहादुर कुमाल, मुकेशबहादुर पाल, सलिम देवान, डिल्ली खत्री, रोहित चौधरी र प्रकाश दनुवारले प्रतिस्पर्धा गर्नेछन् ।
महिलामा कलेसी चौधरी, नारायणी भण्डारी, सीमाकुमारी चौधरी, चन्द्रकला लामगादे र पूर्णलक्ष्मी न्यौपानेले खेल्नेछन् । अफिसियलमा शिवलाल आचार्य र अनिलरुद्रकुमार चौधरी छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, नेपाल एथलेटिक्स संघका महासचिव सन्जिव तुलाधरलगायतले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगितामा १९ राष्ट्रको सहभागिता रहने एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन् ।