
राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) निकट युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा दुई पक्षबीच कुटाकुट भएपछि कार्यक्रम स्थगित गरिएको छ।
उद्घाटन समारोह सुरु नहुँदै अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशम्शेर राणा पक्षका युवाहरूबीच हात हालाहाल भएको हो। विवाद चर्किएपछि लिङ्देनले अधिवेशन स्थगित गरिएको घोषणा गरे।
कुटाकुटपछि कार्यक्रम स्थलमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ। नेताहरू हाल छुट्टाछुट्टै छलफलमा जुटेका छन्।
विवादको सुरुवात केही युवाहरू मञ्चमा उक्लिएर होहल्ला गरेपछि भएको थियो। कार्यक्रम सुरु नभइसकेको भन्दै माइकिङमार्फत शान्त रहन आह्वान गरिए पनि स्थिति नियन्त्रण बाहिर गएको हो।
राप्रपा भित्र अहिले अध्यक्ष लिङ्देन र धवलशम्शेर राणा पक्षबीचको आन्तरिक विवाद युवा संगठनसम्म पुगेको देखिएको छ। लिङ्देनले होहल्ला र अव्यवस्था निम्त्याउनेलाई पार्टी चुपचाप हेरेर नबस्ने चेतावनीसमेत दिएका छन्।