
यम शेर्पाको निर्देशनमा तयार भइरहेको चलचित्र ‘मिरमिरे’को छायांकन सकिएको छ । ३५ दिनमा चलचित्रको छायांकन सकिएको हो ।
काभ्रेका विभिन्न स्थान र मकवानपुरको चित्लाङमा चलचित्रको छायांकन भएको हो । अब एउटा गीतको छायांकन गर्न बाँकी छ । ‘अब एउटा गीतको छायांकन गर्न बाँकी छ । समयअनुकूल पारेर बाँकी एउटा गीत खिच्नेछौं,’ निर्देशक शेर्पाले भने ।
‘मिरमिरे’ माघ १ गतेलाई रिलिज हुँदै छ । नायिका सिर्जना निङ्लेखुको जन्म दिनको अवसर पारेर केही दिनअगाडि निर्माणपक्षले रिलिज डेट घोषणा गरेको थियो ।
यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङ्लेखु छन् । अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटालगायत छन् । चलचित्रको बाल-कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।
‘मिरमिरे’को निर्देशनसँगै स्टोरी पनि यम स्वयंले लेखेका छन् । चलचित्रका छायाकार आलोक शुक्ला हुन् ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह-निर्मातामा गोविन्द बोहोरा, सुदीप कुँवर छन् । वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालकसमेत रहेका चलचित्र वितरक रोहित कट्टेल छन् ।
चलचित्रमा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बू मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक छन् । ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।