
भारतीय विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणमा क्रममा अहिले नेपालमा छन् । उनी नेपालका परराष्ट्र सचिव अमृतकुमार राईको निमन्त्रणामा आइतबार काठमाडौं आएका हुन् । काठमाडौं आएलगत्तै उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री आरजु राणालगायत नेताहरुसँग पालैपालो भेटेका छन् ।
भारत सरकारका कुनै पनि प्रतिनिधिले नेपालमा राष्ट्रपतिदेखि प्रधानमन्त्री, प्रमुख विपक्षी नेता, सत्तारूढ दलका अध्यक्षहरू र उच्च तहका सरकारी अधिकारीहरूसँग सहजै भेटघाटको पहुँच राख्छन् । भारतीय विदेश सचिव मिश्रीलाई पनि त्यही अवसर जुटेको छ । भारतमा नेपालीलाई यस्तो अवसर पाउन मुस्किल पर्छ ।
यसैबीच मिश्रीको बस्ने आसनलाई लिएर नेकपा एमाले सांसदले कटाक्ष गरेका छन् । प्रधानमन्त्री ओलीसँगको भेटका क्रममा विदेश सचिव मिश्री उपरखुट्टी लगाएर बसेको तस्बिर सामाजिक सञ्जालमा राख्दै सांसद दयालबहादुर शाहीले टिप्पणी गरेका हुन् । प्रधानमन्त्रीको सचिवालयबाटै सार्वजनिक गरिएको मिश्रीको यो तस्बिरमाथि सामाजिक सञ्जालका अन्य प्रयोक्ताहरुले ‘असभ्य कूटनीति’ भन्दै आलोचना गरिरहेका छन् ।
सांसद शाहीले प्रश्न गर्दै भनेका छन्, ‘यस्तो उपरखुट्टी ब्युरोक्रेसी यूएसए र रुसजस्ता महाशक्तिसँग पनि छैन । के भारत युरोप र अमेरिकाभन्दा संस्कारको हिसाबले पनि कंगाल हो त ?’ यस्तो सम्मान र पहुँचले स्वाभाविक रूपमा प्रश्न उठ्छ एकजना सचिवले किन यस्तो उच्चस्तरीय सम्मान पाउँछन् ? भारतीय विदेश सचिव कति शक्तिशाली छन् ?
उसो त प्रधानमन्त्री ओलीसँगको शिष्टाचार भेटका क्रममा विदेशसचिव मिश्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले निमन्त्रणाका लागि मिश्रीलाई धन्यवाद दिएका थिए ।
भारतीय विदेश सचिवको भूमिका र शक्ति
भारतजस्तो विशाल लोकतान्त्रिक मुलुकमा विदेश सचिव क्याबिनेट तहको मन्त्री होइनन्, तर उनी भारत सरकारको परराष्ट्र मन्त्रालयका सबैभन्दा वरिष्ठ कार्यकारी हुन् । उनले विदेश नीतिको व्यावहारिक कार्यान्वयन गर्ने, द्विपक्षीय सम्बन्धको समन्वय मिलाउने, कूटनीतिक सल्लाह दिने र रणनीतिक कुरामा प्रत्यक्ष संलग्न रहने जिम्मेवारी लिन्छन् ।
भारतमा विदेश सचिवको हैसियत प्रायः राजदूतहरूका प्रमुख, विदेश मन्त्रालयको प्रमुख प्रशासक र नीतिनिर्माणमा सहभागी व्यक्तिका रूपमा हुन्छ । उनी सिधै विदेशमन्त्री तथा प्रधानमन्त्रीको निर्देशनमा काम गर्छन् । भारतको कूटनीतिक इतिहास र प्रभावको परिप्रेक्ष्यमा हेर्दा, विदेश सचिवको भूमिका निकै शक्तिशाली र प्रभावशाली हुन्छ ।
नेपाल भ्रमणको अर्थ के ?
नेपालमा हुने भारतीय उच्चपदस्थ अधिकारीको भ्रमणलाई केवल औपचारिकताका रूपमा मात्र लिनु हुँदैन । भारत र नेपालको सम्बन्ध ऐतिहासिक, भौगोलिक, सांस्कृतिक र राजनीतिक रुपमा निकै गहिरो छ । मिश्री केवल सचिव भए पनि उनी भारत सरकारको रणनीतिक सन्देश बोकेर आएका व्यक्ति हुन् । भारतीय प्रशासनतन्त्रमा यस्तो भ्रमण रणनीतिक, कूटनीतिक र दबाबमूलक पनि हुन सक्छ । त्यसैले, नेपालको राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले उनलाई समय दिने काम केवल शिष्टाचार होइन, सम्बन्ध व्यवस्थापन पनि हो ।
समानता किन देखिँदैन ?
यहाँ एउटा गम्भीर प्रश्न उठ्ने गरेको छ, यदि नेपालका विदेश सचिव भारत गएका भए के त्यहाँको राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख दलका नेताहरूसँग उनको सहजै भेट हुन्थ्यो त ?
भारतमा सचिवको पहुँच र प्रभावकारिता उच्च तहमा हुन्छ । नेपालमा भने विदेश सचिवको भूमिका कार्यान्वयनमुखी र व्यवस्थापकीय मात्र हुन्छ नीतिनिर्माणमा उनको प्रत्यक्ष हस्तक्षेप कमै हुन्छ ।
नेपालका सचिवहरूको हैसियत र पहुँचबारे आत्ममूल्यांकन गर्ने आवश्यकता पनि औंल्याउँछ । नेपालले पनि आफ्नो कूटनीतिक हैसियत बलियो बनाउन, विदेश सचिवजस्ता पदमा अधिकार, पहुँच र सम्मान अभिवृद्धि गर्नु आवश्यक छ, ताकि अन्तर्राष्ट्रिय मञ्चमा बराबरीको अनुभूति गर्न सकियोस् ।