
सर्वोच्च अदालतले चर्चित गौर हत्याकाण्डको छानबिन अघि बढाउन परमादेश जारी गरेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित संलग्न भनिएका व्यक्तिहरूमाथि छानबिन अघि बढाउन सोमबार उक्त आदेश जारी गरेको हो।
२०६३ साल चैत ७ गते रौतहटको गौरस्थित राइस मिल चौरमा तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादी समर्थित मधेशी मुक्ति मोर्चाबीच भएको झडपमा २७ जना माओवादी कार्यकर्ताको ज्यान गएको थियो भने सयभन्दा बढी घाइते भएका थिए।
उक्त घटनामा उपेन्द्र यादव, पूर्वसभासद बबन सिंह, मधेश प्रदेशका पूर्वसांसद बाबुलाल साहसहित ११३ जनाको नाम जोडिएको छ।
मृतकका परिवारलाई ९ महिनापछि प्रत्येकलाई १० लाख रुपैयाँका दरले क्षतिपूर्ति दिइएको थियो। उक्त दिन फोरम र माओवादीको मोर्चाले एउटै स्थानमा एकै समयमा कार्यक्रम राखेपछि झडप भएको थियो।
घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै त्रिभुवन शाहलगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। त्यसकै आधारमा अदालतले अब छानबिन अघि बढाउन आदेश दिएको हो।