काठमाडौं, भदौ ३ :

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले मंगलबार एकाएक उपसभामुख इन्दिरा रानाविरुद्ध पदअनुकूल आचरण नगरेको आरोपमा महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरे । त्यसका लागि दुवै दलले आफ्ना सांसदहरुलाई हस्ताक्षर समेत गर्न लगाए ।तर,दुवै दलका सांसदहरू भने आफूले किन हस्ताक्षर गरिरहेका छौं भन्नेमा रनभुल्लमा देखिन्थे ।

सिंहदरबारमा नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गराएको थियो। यद्यपि, अधिकांश सांसदहरूले आफूलाई हस्ताक्षर गराउँदा त्यसको प्रयोजन खुलाइएको थिएन भन्ने गुनासो गरेका छन्।

कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसदीय दलले बेलाबेला आफ्ना सांसदहरूको हस्ताक्षर लिँदै आएको प्रचलन रहेको बताए। उनले उपसभामुखमाथि महाअभियोगको प्रस्ताव पेस हुन लागेको भन्ने समाचार सही नभएको दाबी गर्दै हाल केही विधेयकहरू अड्किएको र ती विधेयक टुंग्याउने विषयमा छलफल भइरहेको स्पष्ट गरे।

‘संसदीय दलले कुनै पनि बेला पर्नसक्ने कामका लागि हस्ताक्षर संकलन गर्न सक्छ,’ घिमिरेले भने ।

एमाले मुख्य सचेतक महेश बर्तौलाले पनि सांसदहरूको हस्ताक्षर उपसभामुखमाथिको प्रस्तावसँग सम्बन्धित नभएको प्रस्ट पारे।

‘सत्तारूढ दलहरू हाल उपसभामुखमाथि कुनै प्रस्ताव दर्ता गर्ने मनसायमा छैनन्,’ उनले भने, ‘तर उनीमाथि लागेको आरोपको निष्पक्ष छानबिन हुनु जरुरी छ।’

एमाले सचिव योगेश भट्टराईले पनि हस्ताक्षर संकलन आपतकालीन परिस्थितिमा प्रयोग गर्ने गरिएको बताए। कांग्रेस र एमालेबीच हस्ताक्षरको विषयमा कुनै सल्लाह नभएको दाबी गर्दै उनले एकैदिन परे पनि त्यो संयोग मात्र भएको बताए।

‘०४८ सालदेखि नै दलहरूले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गर्ने अभ्यास छ,’ उनले भने, ‘महाअभियोग, सरकार परिवर्तनजस्ता संवैधानिक प्रक्रियामा आवश्यक पर्न सक्छ। तर हस्ताक्षर दुरुपयोग हुँदैन।’