
नयाँ संसद् भवनको कन्फ्रेन्सिङ सिस्टमबारे परीक्षण गर्दै डेमो प्रदर्शन गरिएको छ ।
सिंहदरबारभित्रै बनिरहेको संसद् भवनमा आधुनिक प्रणाली जडान गरिँदै छ । विभिन्न देशमा प्रयोग भएको अत्याधुनिक प्रणाली नै नेपालको संसद्मा प्रयोग गरिएको सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले जानकारी दिए ।
‘नयाँ संसद् भवनमा प्रविधिबारे आज (शुक्रबार) उपप्रधानमनत्री एवं सहरी विकासमन्त्रीज्यूलाई ब्रिफिङ गरिएको छ । संसद् भवनमा राखिएको कन्फ्रेन्सिङ सिस्टमले कसरी काम गर्छ ? परीक्षण पनि गरियो,’ सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले जानकारी दिए ।
उनका अनुसार प्रतिनिधिसभामा ३५४ वटा र राष्ट्रिय सभामा ९४ वटा डिभाइस हरेक टेबलमा जडान हुनेछ । नयाँ संसद् भवनमा जडान हुने प्रविधि अहिलेको संसद् भवनको भन्दा आधुनिक हुनेछ । जसमा आफ्नो कुर्सीमा जडित डिभाइसबाट मतविभाजनका क्रममा मत दिन सकिने, संसद्मा प्रस्तुत विधेयकहरु र अन्य डकुमेन्ट सिधै डिभाइसमा हेर्न मिल्नेछ भने संसद्को क्यामेरा सिस्टम पनि डिभाइसमा आधारित हुनेछ ।
संसद् भवनको निर्माण कार्यसँगै संसद्भित्रको प्राविधिक पक्ष उन्नत बनाउनुपर्ने उपप्रधानमन्त्री सिंहले जोड दिए । नयाँ प्रविधिले संसद्को कामकारबाहीलाई सहज र प्रभावकारी बनाउने विश्वास गरिएको छ ।
नयाँ संसद् भवनको कन्फ्रेन्सिङ सिस्टमबारे उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसहित संघीय संसद्का महासचिव, सचिव, सचिवालयका प्रतिनिधिहरुबीच नयाँ प्रणालीले कसरी काम गर्छ परीक्षण गरेर देखाइएको थियो ।