बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

भियतनामका उपराष्ट्रपति सुआन तीनदिने भ्रमणका क्रममा काठमाडौंमा, उच्चस्तरीय भेटवार्ता हुने

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री देउवा र सस्कृतिमन्त्री पाण्डेले स्वागत गरे ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ७ भदौ, २०८२ मा प्रकाशित
भियतनामका उपराष्ट्रपति सुआन तीनदिने भ्रमणका क्रममा काठमाडौंमा, उच्चस्तरीय भेटवार्ता हुने
काठमाडौं, भदौ ७ :

समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेकी छिन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन् ।

उपराष्ट्रपति सुआनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वागत गरे ।

त्यस अवसरमा नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका पदाधिकारीलगायत विशिष्ट व्यक्तित्व उपस्थित थिए । उपराष्ट्रपति सुआनले उनको सम्मानमा नेपाली सेनाले प्रदान गरेको गार्ड अफ अनरको निरीक्षण समेत गरिन्।

उनीसँग आजै परराष्ट्रमन्त्री डा. राणाले शिष्टाचार भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ । उनी यही भदौ ९ गतेसम्म नेपालको भ्रमण गर्नेछिन् ।

भियतनामकोतर्फबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । भ्रमणका क्रममा उपराष्ट्रपति यादव र उनका समकक्षी सुआनबीच भदौ ८ गते काठमाडौँमा प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय वार्ता हुने मन्त्रालयले जनाएको छ ।

उपराष्ट्रपति सुआनले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नहुने कार्यक्रम छ ।

यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ । उपराष्ट्रपति सुआन भ्रमण सम्पन्न गरी भदौ ९ गते स्वदेश फिर्ता हुने तालिका छ ।

 

 

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार