काठमाडौं, भदौ ८ :

पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालको सार्वभौमसत्ता, भू–राजनीतिक सन्तुलन र संविधानको भावना विपरीत रहेको टिप्पणी गरेका छन्।

काठमाडौंमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै खनालले एमसीसी नेपालको हितअनुकूल नरहेको दाबी गरे। उनले यो सम्झौता दक्षिण एसियामा अमेरिकी सुरक्षा रणनीति अघि बढाउने उपकरण भएको बताए।

खनालका अनुसार एमसीसी सम्झौता संसदबाट असामान्य ढंगले पारित गरिएको हो। संसदमा पर्याप्त छलफल नगरी सम्झौता अनुमोदन गरिएको उल्लेख गर्दै उनले यस घटनालाई लोकतान्त्रिक मूल्य मान्यताको उल्लङ्घन भने।

उनले राजनीतिक दलहरूलाई दोहोरो भूमिकाको आरोप लगाउँदै विद्यार्थी, युवा तथा बुद्धिजीवीहरूले राष्ट्रवादी अडानका कारण अनावश्यक दुःख भोग्नुपरेको पनि बताए।

खनालले एमसीसीले नेपाललाई भारतसँगमात्र विद्युत व्यापार गर्न बाध्य पार्ने उल्लेख गर्दै यसले भारतीय एकाधिकार बलियो बनाउन सक्ने चेतावनी दिए। सम्झौताको कार्यान्वयन प्रक्रियामा समेत स्पष्टता नरहेको भन्दै उनले पुनर्विचारको आवश्यकता औंल्याए। उनले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई चुनौती दिने कुनै पनि प्रावधान स्वीकार्य हुन नसक्ने बताए।