काठमाडौं, भदौ १५ :

भारतमा लगेर नेपाली नागरिकको मिर्गौला (किड्नी) बेच्ने गिरोहका मुख्य नाइके श्यामकृष्ण भण्डारीसहित दुई जना पक्राउ परेका छन्।

मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार भण्डारी र उनका सहयोगी सुजन भारतीलाई भारतबाट नेपाल फर्किने क्रममा नियन्त्रणमा लिइएको हो। भण्डारीलाई कञ्चनपुर नाका हुँदै र भारतीलाई वीरगञ्ज नाकाबाट पक्राउ गरिएको हो।

उक्त गिरोहले सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, नुवाकोट, धादिङ लगायतका जिल्लामा पुगेका व्यक्तिहरूलाई विभिन्न प्रलोभन देखाएर भारत पुर्‍याउने र नयाँदिल्लीसम्म पुर्‍याई किड्नी बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोले ‘अप्रेसन लाइफ फिल्ड’ नामक अभियान सञ्चालन गर्दै अनुसन्धान अगाडि बढाएको थियो। पीडित पाँच जनाले जाहेरी दिएपछि ब्यूरोमा चारवटा मुद्दा दर्ता भएका छन्।

यसअघि पनि सो गिरोहमा संलग्न अन्य तीन जना गत साउन २० गते पक्राउ परेका थिए। पीडितको बयान र पक्राउ परेकाहरूको स्वीकृतिअनुसार प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको छ।

प्रहरीका अनुसार मिर्गौला दिन तयार हुने व्यक्तिहरूलाई गाडीको व्यवस्था गरेर भारत लैजाने त्यहाँ विभिन्न अस्पतालमा लैजाने अवैधानिक रूपमा किड्नी झिकेर बिक्री गर्ने कार्य हुँदै आएको थियो ।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य तीव्र बनाएको छ। मानव अंग तस्करीको यो गम्भीर घटना सार्वजनिक भएपछि समाजमा व्यापक चासो र चिन्ता देखिएको छ।