
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले सञ्चालन गरेको ‘अपरेसन लाइफ सिल्ड’ अभियानले मानव अंग तस्करीमा संलग्न ठुलो गिरोहको पर्दाफास गरेको छ।
सिन्धुपाल्चोकका श्यामकृष्ण भण्डारी (३८) ले नेपालका विभिन्न जिल्लाबाट मानिसलाई भारत पुर्याई मिर्गौला तस्करीमा संलग्न भएको खुलासा भएको हो। भण्डारीले भारतको ग्रेटर नोयडास्थित यथार्थ अस्पताल र अन्य क्लिनिकका एजेन्ट तथा कर्मचारीहरूसँग मिलेमतोमा कम्तीमा २५ जनाको मिर्गौला झिकाएको प्रारम्भिक बयानमा स्वीकारेका छन्।
मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद पंगेनीका अनुसार, भण्डारीको गिरोहले काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, धादिङलगायत जिल्लाका गरिब र विपन्न व्यक्तिहरूलाई एउटा मिर्गौला दिदैमा केही हुँदैन, मरिँदैन पनि भनेर प्रलोभन देखाएर दिल्ली पुर्याउने गरेको थियो।
मिर्गौला दिनेलाई ६ लाखको आश्वासन तर रकम पाएनन्
गिरोहले मिर्गौला दिने व्यक्तिको खोजी गरेबापत प्रति टोलीलाई ५० हजार रुपैयाँ दिने गर्थे। मिर्गौला दिने व्यक्तिलाई भने ६ लाख रुपैयाँ दिने आश्वासन दिए पनि, अधिकांश पीडितले रकम नपाएको जाहेरी दिएका छन्।
पीडितहरूलाई नेपालबाटै सवारीसाधनको व्यवस्था गरी दिल्लीसम्म पुर्याइन्थ्यो। लाजपत नगरस्थित कस्तुरबा निकेतन नजिकैको होटलमा राखिने पीडितहरूलाई मिर्गौला निकाल्नुअघि आँखा बाँधेर गाडीमा राखी अज्ञात स्थान पुर्याइन्थ्यो। त्यहाँ इन्जेक्सन दिई बेहोस बनाई मिर्गौला झिक्ने गरिएको प्रहरीको अनुसन्धानले देखाएको छ। मिर्गौला झिकेपछि ३/४ दिन अस्पतालमा राखी पुनः गाडीमार्फत नेपाल फर्काइन्थ्यो।
भण्डारीको दिल्लीमा स्थायी बसोबास
प्रहरीका अनुसार श्यामकृष्ण भण्डारी विगत ३ वर्षदेखि दिल्लीको लाजपत नगरमा बस्दै आएका थिए। उनले भारतको आधारकार्डसमेत बनाएका थिए। उनलाई महेन्द्रनगरबाट पक्राउ गरिएको हो।
यसै गिरोहमा संलग्न अर्का व्यक्ति सुजन भारतीलाई वीरगञ्जबाट पक्राउ गरिएको छ। प्रहरीसँगको बयानमा भारतीले आफूले पनि मिर्गौला बेचेको र दिल्लीमा बस्दै भण्डारीको सहयोगीको रूपमा काम गर्दै आएको स्वीकारेका छन्। उनले मिर्गौला दिने व्यक्तिहरूको रेखदेख र व्यवस्थापन गर्ने जिम्मेवारी लिएका थिए। एक व्यक्तिको मिर्गौला झिकिएपछि उनी प्रति व्यक्तिसँग ४० हजार रुपैयाँ लिने गरेका थिए।
‘अपरेसन लाइफ सिल्ड’ को सफलता
मानव अंग तस्करीमा संलग्न गिरोहलाई समात्न नेपाल प्रहरीले विशेष अभियान ‘अपरेसन लाइफ सिल्ड’ सञ्चालन गरेको थियो। अपरेसन थालेको केही दिनमै प्रहरीले काठमाडौँ, नुवाकोट र काभ्रेपलाञ्चोकबाट गिरोहका मुख्य सदस्यहरू राकेश नेपाली, समीर नेपाली र कुमार उर्फ राजकुमार नेपालीलाई साउन २० गते पक्राउ गर्यो। तीन जनाको बयानकै आधारमा प्रहरीले दिल्लीमा सक्रिय मुख्य योजनाकार श्यामकृष्ण भण्डारीसम्म पुग्न सफल भएको हो।
सिन्धुलीका ३७ वर्षीय खिलबहादुर भुजेल प्रहरी सम्पर्कमा आएपछि अनुसन्धानको थालनी भएको हो। भुजेलले ‘होटलमा सजिलो काम पाइन्छ’ भन्ने बहानामा भारत पुर्याएर चण्डीगढस्थित नाम नखुलेको क्लिनिकमा आफ्नो मिर्गौला झिकिएको बताउँदै जाहेरी दिएका छन्। उनीसँगै थप ४ जनाको पनि मिर्गौला झिकिएको छ।
भुजेलका अनुसार आफूलाई मिर्गौला दिएबापत ६ लाख दिने भनिए पनि कुनै रकम नदिइएको हो। उनीसहित पाँच जनालाई समीर नेपाली र राजकुमार नेपालीले नेपाल ल्याएर छाडेका थिए।
पक्राउ परेकाहरूविरुद्ध संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। सो ऐन अनुसार मानव अंग बेचबिखनमा संलग्नलाई १० वर्षसम्मको कैद र २ देखि ५ लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ। संगठित अपराधमा संलग्नता पुष्टि भएमा तोकिएको सजायमा डेढ गुणासम्म सजाय हुनसक्ने कानुनी व्यवस्था छ।
मानव अंग तस्करीजस्तो गम्भीर अपराधमा संलग्न गिरोहलाई कारबाही गर्ने काम अहिले तीव्र गतिमा अघि बढेको प्रहरीले जनाएको छ।