
सरकारले बिमा प्राधिकरणको खाली रहेको अध्यक्ष पदमा नियुक्तिका लागि प्रक्रिया थालेको छ । अध्यक्षका लागि खुलाइएको दरखास्तमा १४ जनाले आवेदन दिएका छन्। यही भदौ १४ मा एक साताको म्याद दिएर मागिएको आवेदनमा १४ जना प्रत्याशीले आवेदन दिएका हुन् ।
जसअनुसार विक्रान्त पाण्डे, पारस काफ्ले, घनश्याम बुढाथोकी,विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, दीपकबहादुर भण्डारी, राजेन्द्र पण्डित, यज्ञप्रसाद न्यौपाने, रमेशकुमार भट्टराई,चिन्तामणी शिवाकोटी, ज्ञानेन्द्र अधिकारी, देवकुमार ढकाल र महेश्वर न्यौपानेको आवेदन परेको छ ।
अध्यक्षका लागि ३० वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेका, बिमा, मौद्रिक, बैकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको व्यक्तिले प्राधिकरणको अध्यक्षमा आवेदन दिन सक्ने गरी आवेदन खुलाइएको थियो ।
अध्यक्ष छनौटका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । समितिका सदस्यमा अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा खोमराज खरेल रहेका छन् ।
प्राधिकरण निवर्तमान अध्यक्षमा शरद ओझालाई सरकारले बर्खास्त गरेपछि सो पद रिक्त रहेको छ । बिमा ऐनको व्यवस्थाअनुसार हाल प्राधिकरणको अध्यक्षको जिम्मेवारी सेवन्तक पोखरेललाई दिइएको छ ।