काठमाडौं, भदौ २५ :

नेपाली कांग्रेसले जेनजी पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले बुधबार विज्ञप्ति जारी गर्दै आन्दोलनमा ज्यान गुमाएका युवाहरू र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

‘धेरै युवाहरू र केही सुरक्षाकर्मीहरूले ज्यान गुमाउनुपरेको पीडादायी अवस्था हामी सबैका लागि अत्यन्त दुःखद छ,’ महतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘म मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’

विरोध प्रदर्शनको क्रममा भएको धनजनको ठूलो क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै कांग्रेसले लोकतान्त्रिक मुल्य र मान्यताविपरीत हिंसात्मक गतिविधि हुनु निन्दनीय भएको जनाएको छ।

लोकतन्त्रका स्तम्भमाथि आक्रमण गम्भीर

कांग्रेसले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत अंगहरूमाथि भएको आक्रमणलाई गम्भीर विषयको रूपमा लिएको छ। विज्ञप्तिमा भनिएको छ, “म लगायत धेरैको घर, निजी सम्पत्ति, उद्योग–व्यवसाय, सञ्चारगृह लगायतमा भएको आगजनी, तोडफोड र लुटपाट अत्यन्त दुःखद र निन्दनीय छ। यो एक दिनको क्षति १० वर्षे माओवादी द्वन्द्वको बेलाभन्दा पनि बढी छ।”

विज्ञप्तिमा भनिएको छ कि हिंसात्मक गतिविधिका कारण लगानीको वातावरण पनि बिग्रिएको छ र यसको क्षतिपूर्तिका लागि वर्षौँ लाग्ने स्पष्ट छ।

देउवासहित नेतामाथि आक्रमणको निन्दा

कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवासहित अन्य नेताहरूमाथि भएको सांघातिक आक्रमणको कडा शब्दमा भर्त्सना गरेको छ। यस्ता गतिविधिले लोकतान्त्रिक संस्कारमाथि गम्भीर चोट पुर्‍याएको कांग्रेसको ठम्याइ छ।

कानुनी शासन र लोकतन्त्रको विकल्प छैन

देश अहिले राजनीतिक शून्यता र कानुनी अनिश्चितताको अवस्थामा रहेको उल्लेख गर्दै कांग्रेसले राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्ति-सुरक्षा कायम गर्नु आवश्यक भएको बताएको छ।

प्रवक्ता महतले भनेका छन्, “कानुनी शासनको विकल्प छैन, लोकतन्त्रको विकल्प छैन। यस्तो जटिल परिस्थितिमा कांग्रेसका सबै साथीहरू एकजुट भई आत्मविश्वास र भरोसा कायम गर्नु अपरिहार्य छ।”

संवाद र पहलको आग्रह

लोकतान्त्रिक प्रक्रियाको पुनःस्थापना र संविधानको रक्षा गर्न नेपाली कांग्रेसले अन्य लोकतान्त्रिक शक्तिहरूसँग तत्काल संवाद गर्नुपर्ने आवश्यकता औंल्याएको छ। त्यस क्रममा राष्ट्रपतिको नेतृत्वमा हुने पहलमा कांग्रेसले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।

‘शान्ति, सुरक्षा, संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनःस्थापनाका लागि राष्ट्रपतिको अगुवाइमा हुने संवाद र पहलमा कांग्रेस सक्रिय रहनेछ,’ महतको भनाइ छ।