काठमाडौं, भदौ २६ :

कांग्रेस, एमाले, माओवादी र रास्वपाका युवा नेताहरू नेताहरूले जेनजी आन्दोलनले उठाएका सुशासन र भ्रष्टाचार विरोधी मुद्दा उपयुक्त रहेको भन्दै राजनीतिक दलहरूले त्यसप्रति गम्भीर भएर नीति र निर्णय गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिबीच ती दलका युवा नेताहरू भर्चुअलमार्फत गरिएको  संयुक्त  छलफलमा उक्त धारणा व्यक्त गरेका हुन्। भर्चुअल छलफलमा कांग्रेसबाट गगन थापा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, एमालेबाट योगेश भट्टराई, ठाकुर गैरे, विद्या भट्टराई, माओवादीबाट माधव सापकोटा, राजन दाहाल, अमनलाल मोदी र रास्वपाबाट सोबिता गौतम र शिशिर खनाल सहभागी थिए।

राजा र सैन्य शासनबारे चर्चा हुन थालेको सन्दर्भमा यदि त्यो प्रक्रियामा अगाडि बढ्ने संकेत देखिए प्रतिवादमा उत्रने चेतावनी पनि दिएका छन्। चारै दलका युवा नेताहरू पश्चगमन रोक्न साझा मोर्चा बनाउनेतर्फ सहमत भएको स्रोतको भनाइ छ।

छलफलमा सहभागी नेताहरूका अनुसार नयाँ सरकार गठनको मोडलबारे भने चार दलबीच एकमत बन्न सकेको छैन। संसदभित्रैबाट नेतृत्व चयन गर्ने वा बाहिरबाट ल्याउने भन्ने विषयमा दलहरूको बुझाइ फरक–फरक देखिएको छ।

नेताहरूले तीन बुँदे निष्कर्ष निकालेका छन् :

१. दलहरूले आत्मसमीक्षा गर्नुपर्छ
२. जेनजीका माग सम्बोधन हुनुपर्छ
३. पश्चगमन प्रयास भए प्रतिवाद गर्नुपर्छ