काठमाडौं, भदौ २७ :

 अन्तरिम सरकारका नयाँ प्रधानमन्त्रीका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आज राति पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएकी छिन्।

राष्ट्रपति भवन शीतल निवासमा आज राति ९ बजे शपथग्रहण कार्यक्रम तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

उनका अनुसार, ‘सबैभन्दा पहिले राष्ट्रपतिज्यूले अन्तरिम सरकारका लागि नयाँ प्रधानमन्त्रीज्यूलाई नियुक्त गर्नुहुनेछ। त्यसपछि नयाँ प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषद्को कामकारबाही अगाडि बढाउनुहुनेछ।’

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिकाबीच संसद् विघटनसहितको कदम चाल्दै अन्तरिम सरकार गठन गर्न लागेका हुन्। जेनजी समूहले संविधान र संसद दुवै विघटन गर्नुपर्ने अडान लिए पनि अन्तत: संविधान भने बचेको छ । अब यही संविधानलाई टेकेर सरकार अगाडि बढ्नेछ ।

आन्दोलनरत जेनजी समूहको दबाब र विभिन्न पक्षसँगको छलफलपश्चात्, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्वका लागि चयन गरिएको हो।