
प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई अन्तरिम सरकारमा सहभागी हुन गरेको प्रस्तावलाई अस्वीकार गरेका छन् ।
मंगलबार तिलगंगा आँखा प्रतिष्ठान पुगेर प्रधानमन्त्री कार्कीले डा. रुइतसँग सरकारमा सहभागी हुन आग्रह गरेकी हुन्।
प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा आफूले सरकारको नेतृत्व गर्नुपरेको भन्दै राष्ट्रिय सेवा भावले सरकारलाई साथ दिन रुइतलाई प्रस्ताव राखेकी थिइन्। तर, डा. रुइतले आफू सरकारमा सहभागी नहुने स्पष्ट जवाफ दिएका छन्।
छलफलपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै डा. रुइतले भने, ‘यहाँ छोडेर आउने ? यत्रो छ काम, बिरामीलाई छाडेर आउँदिन।’
उनले सरकारलाई आफ्नो ठाउँबाट जति सकिन्छ सहयोग गर्ने बताउँदै चिकित्सकीय पेशामार्फत नागरिकको सेवामा नै तल्लिन रहने स्पष्ट पारे। जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा डा. रुइत सहभागी हुने चर्चा चलिरहेका बेला प्रधानमन्त्री आफैं प्रस्तावसहित तिलगंगा पुगेकी थिइन्।