
काठमाडौं, भदौ १ :
पत्रकार किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
उनकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सोमबार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले सुनुवाइ गर्दै रिहा गर्न आदेश दिएको हो । सर्वोच्चको आदेश अनुसार उनलाई हाजिरी जमानीमा छाडेर अनुसन्धान गर्न भनिएको छ ।
सर्वोच्चले श्रेष्ठको घरबाट नियन्त्रणमा लिएको सामानसहित उनलाई सशरीर उपस्थित गराउन आदेश दिए बमोजिम आज अदालत उपस्थित गराइएको थियो ।
यसअघि आजै काठमाडौं जिल्ला अदालतले भने उनलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । यसअघि थपिएको म्याद सकिएपछि अदालत उपस्थित गराइएको थियो ।