काठमाडौं, असोज १ :

जेनजी आन्दोलनका क्रममा संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट करिब ३८ करोड रुपैयाँ बराबरको लुटपाट भएको गभर्नर डा. विश्वनाथ पौडेलले खुलासा गरेका छन्।

उनका अनुसार ५ करोड नगद र १८ किलो सुन चोरी भएको छ। यो लुटपाट ‘सिरियस केस’ भएको भन्दै गभर्नर पौडेलले प्रदर्शनको इपिसेन्टरमै बैंकको लकर तोडफोड गरी रकम चोरी भएको जानकारी दिएका छन्।

हालसम्म उक्त लुटपाटमा संलग्न व्यक्तिहरू पक्राउ परेका छैनन्। राष्ट्र बैंक र प्रहरीले सीसीटीभी फुटेजको आधारमा अनुसन्धान जारी राखेको छ।

यस घटनाबाहेक अन्य शाखाहरूमा कर्मचारीको सतर्कताका कारण लुटपाटबाट जोगिन सकिएको हो। बैंकर्स एसोसिएसन र राष्ट्र बैंकका प्रारम्भिक तथ्यांक अनुसार देशभर ६८ शाखा र ६९ एटीएममा क्षति पुगेको छ।

गभर्नर पौडेलका अनुसार आन्दोलन बैंक लक्षित नभए पनि संसद्, सरकारी कार्यालय तथा ठूला व्यावसायिक क्षेत्रका नजिक भएकाले बैंक शाखाहरू प्रभावित भएका हुन्।

उनले भाटभटेनी सुपरस्टोरमा करिब १ खर्ब रुपैयाँसम्मको क्षति भएको आकलन गर्दै, निजी क्षेत्र र सरकार दुवैको अपार सम्पत्ति नष्ट भएकाले अर्थतन्त्र थप संकटमा परेको बताए।

उनका अनुसार डिजिटल पेमेन्ट प्रणाली भने सुरक्षीत रहनु र बैंक कर्मचारीको समर्पणले बैंकिङ प्रणाली ध्वस्त हुनबाट बचेको हो। संसद् भवनको शाखाबाहेक अन्य सबै बैंक शाखाहरू सुरक्षित रहेको उनले स्पष्ट पारे।