
नेपाली कांग्रेसले संविधानको संरक्षण र सम्मानका लागि आगामी असोज ३ गते देशभर संविधान दिवस मनाउने भएको छ। पार्टीका उपसभापति पूर्णबहादुर खड्काले ७७ वटै जिल्लामा संविधान दिवस मनाउने सर्कुलर जारी गरिएको जानकारी दिएका छन्।
बुधबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसभापति खड्काले पार्टीको सबै तह–जिल्ला, क्षेत्रीय समिति, भ्रातृ संस्था तथा शुभेच्छुक संस्थाहरूलाई शान्तिपूर्ण ढंगले संविधान हातमा लिएर दिवस मनाउने निर्देशन दिइसकिएको बताए।
‘सबै जिल्लामा संयुक्त रूपमा, अत्यन्त संयमतापूर्वक र दृढतापूर्वक संविधानको रक्षा गर्ने संकल्पसहित संविधान दिवस मनाउने निर्णय गरिएको छ,’ उपसभापति खड्काले बताए। उनले संविधान दिवसलाई अवसरका रूपमा लिएर पार्टी पंक्तिलाई लोकतान्त्रिक मूल्य, संविधानको मर्म र संस्थागत अभ्यासप्रति प्रतिबद्ध रहने आह्वान समेत गरे।