
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ। करिब २० मिनेटसम्म भएको उक्त कुराकानीमा द्विपक्षीय सहकार्य, शान्ति तथा स्थायित्वका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
प्रधानमन्त्री कार्कीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भारतीय समकक्षीसँग टेलिफोन वार्ता गरेकी थिइन्। उक्त संवादका क्रममा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू पनि उपस्थित थिए। प्रधानमन्त्री बनेपछि सुशीला कार्कीको यो पहिलो विदेशी समकक्षीसँगको संवाद हो।
प्रधानमन्त्री मोदीले नेपालमा शान्ति र स्थायित्व कायम गर्न प्रधानमन्त्री कार्कीको नेतृत्वलाई भारतले निरन्तर समर्थन र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले यो जानकारी सामाजिक सञ्जाल ‘एक्स’ मार्फत दिएका हुन्।
प्रधानमन्त्री मोदीले कुराकानी आत्मीय भएको उल्लेख गर्दै हालैको जेनजी युवा आन्दोलनमा भएको दुःखद घटनाप्रति गहिरो समवेदना प्रकट गरे। साथै, मृतक परिवारप्रति सहानुभूति व्यक्त गर्दै नेपाल र नेपाली जनताको पीडामा भारत सधैँ साथ रहने आश्वासन पनि दिए।
उनले लेखेका छन्, ‘नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री श्रीमती सुशीला कार्कीसँग आत्मीयतापूर्ण वार्ता गरें। हालैको दुःखद घटनामा ज्यान गुमाएका सबैप्रति गहिरो संवेदना प्रकट गरें र शान्ति तथा स्थायित्व पुनर्स्थापना गर्न उहाँले गरिरहनु भएको प्रयासप्रति भारतको अटल समर्थन रहने आश्वासन पनि दिँदै शुभकामना प्रेषण गरें।’
प्रधानमन्त्री मोदीले असोज ३ गते पर्ने नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा सम्पूर्ण नेपाली जनतालाई शुभकामना व्यक्त गरे।