
सुदूर पश्चिम प्रदेश सरकारले संविधान दिवस विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित कार्यक्रममा लोकतन्त्र प्राप्ति र संविधान निर्माणमा जीवन उत्सर्ग गर्ने वीर सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै सहिद परिवार, बेपत्ता र घाइते योद्धाप्रति उच्च सम्मान व्यक्त गरिएको छ । साथै भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा प्राण गुमाउने युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरियो ।
प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले संविधान केवल कागजी दस्तावेज नभई यसको प्रभावकारी कार्यान्वयनबाटै समृद्ध नेपाल निर्माण सम्भव हुने बताउनुभयो । मुख्य मन्त्रीले युवा पुस्ताको मागअनुसार सुशासन,चुस्त सेवा प्रवाह र समान अवसर सुनिश्चित गर्न हामी थप गम्भीरताका साथ क्रियाशील हुनुपर्ने बताए । उनले हालैका घटनाबाट भएको जनधनको क्षतिले सबै नेपालीलाई पीडित बनाएको उल्लेख गर्दै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा सुशासन र समृद्धिको यात्रालाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाए । संविधानले दिएको अधिकारसँगै जिम्मेवारी पनि समान रूपमा बहन गर्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा प्रदेशसभाका सभामुख भिम भण्डारीले जेनजी आन्दोलनबाट नेतृत्वले धेरै पाठ लिनुपर्ने बताए ।