.jpeg)
नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै त्यसको विरोध गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले विघटनको विरोधमा उभिने निर्णय गरेको सहमहामन्त्री महालक्ष्मी उपाध्याय 'डिना'ले जानकारी दिइन्।
बैठक उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको थियो। बैठकले निर्वाचनको विपक्षमा नजाने स्पष्ट गरे पनि प्रतिनिधिसभा विघटन प्रक्रिया र त्यससँग सम्बन्धित संवैधानिक पक्षबारे प्रश्न उठाउने निर्णय गरेको हो।
सहमहामन्त्री उपाध्यायका अनुसार, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक छ भन्ने निष्कर्षमा हामी पुगेका छौं। कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले निर्वाचनको विपक्षमा जाँदैन, तर यसको प्रक्रिया र विधिबारे गम्भीर प्रश्न छन्।’
तत्कालका लागि कसैलाई कार्यवाहक सभापति नतोकिने निर्णयसमेत गरेको छ।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’पछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछिको राजनीतिक घटनाक्रम अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २६ गते संविधानविपरीत पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए भन्ने दलहरुको धारणा रहेको छ।
प्रधानमन्त्री बनेपछि कार्कीले प्रतिनिधिसभा विघटनको सिफारिस गर्दै आगामी फागुन २१ गते निर्वाचन तोक्न सिफारिस गरेकी थिइन्। जसलाई राष्ट्रपति पौडेलले सदर गरेका थिए। यिनै निर्णयहरूप्रति कांग्रेसले गम्भीर आपत्ति जनाउँदै आएको छ।
सहमहामन्त्री उपाध्यायका अनुसार, निर्वाचनको घोषणा गरिए पनि अन्तरिम सरकारले राजनीतिक दलहरूसँग आवश्यक संवाद नगरेको कांग्रेसको गुनासो छ। ‘सरकारले चुनावी प्रक्रिया कसरी अघि बढाउने भन्नेबारे कुनै परामर्श नगरेको अवस्थामा हामी प्रश्न उठाउन बाध्य छौं,’ उनले भनिन्। पार्टीले यो विषयमा केन्द्रीय समिति बैठक बोलाएर विस्तृत छलफल गर्ने निर्णय पनि गरेको छ।
बैठकमा कांग्रेसले अन्य राजनीतिक दलहरूसँग संवाद गरेर साझा धारणा बनाउने विषयमा पनि छलफल भएको उपाध्यायले बताइन्।
त्यस्तै, पार्टीले तत्कालका लागि कसैलाई कार्यवाहक सभापति नतोकिने निर्णयसमेत गरेको छ। सहमहामन्त्री महेन्द्र यादवका अनुसार, विशेष महाधिवेशन नगर्ने र सभापति शेरबहादुर देउवा स्वास्थ्य लाभपछि केन्द्रीय समिति बैठक बोलाएर निर्णय लिने सहमति भएको छ।