कास्की, असोज ९ :

जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण गण्डकी सरकार मातहत  रहेका २९ वटा भवन तत्काल प्रयोग गर्न नमिल्ने देखिएको छ । ४८ वटा भवन-संरचनाको अध्ययन गर्दा  १३ वटा भवनलाई रातो र १६ वटा भवनलाई पहेँलो श्रेणीमा राखिएको छ भने १९ वटा हरियो श्रेणीमा परेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको भवन, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको नयाँ भवन, मुख्यमन्त्री निवासको मुख्य भवन र कर्मचारी आवास, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको मुख्य भवन र कर्मचारी आवास, गण्डकी विश्वविद्यालयको प्रशासनिक भवन, सामाजिक विकास कार्यालय कास्की, पूर्वाधार विकास कार्यालय कास्की, पूर्वाधार विकास निर्देशनालय गण्डकी, वन निर्देशनालय र जलस्रोत तथा सिँचाइ डिभिजन विकास कार्यालय कास्कीको भवन हरियो श्रेणीमा छन् ।

प्रदेश सभास्थित संसदीय दलका कार्यालय र कर्मचारी आवास, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, मुख्यमन्त्री निवासको हल, योजना आयोगको भवन, योजना आयोगको निवास, यातायात व्यवस्था कार्यालय सवारीको भवन, यातायात व्यवस्था लाइसेन्स कार्यालयको पुरानो ट्रस भवन, प्रदेश प्रमुखको निवास, आर्थिक मामिला मन्त्रालयको भवन, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको ढुंगा–इँटाको भवन, शिक्षा विकास डिभिजन कार्यालय बगर, उद्योग तथा पर्यटन मन्त्रालयको भवन रातो श्रेणीमा परेका छन् ।

रातो श्रेणीका भवन अब प्रयोग गर्न उचित नहुने र पहेँलो श्रेणीमा राखिएका भवन तत्काल प्रयोग गर्न नमिल्ने इन्जिनियर सन्तोष जिसीले बताए ।