
राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको नवौँ दिन अर्थात् महानवमीको अवसरमा नवकन्याहरूको पूजा गरेका छन्।
बुधबार राष्ट्रपति निवास शीतलनिवासमा आयोजित विशेष पूजाआर्चनामा राष्ट्रपति पौडेलले धर्मपत्नीसँगै एकदेखि नौ वर्ष उमेर समूहका नवकन्याहरूलाई नवदुर्गाको प्रतीकस्वरूप पूजा गरेका हुन्।
वैदिक सनातन हिन्दू परम्पराअनुसार दशैँको नौ दिनसम्म विभिन्न देवीहरूको पूजन गरिन्छ। जसमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ।
यिनै नवदुर्गाका प्रतीकको रूपमा नवकन्या पूजन गर्ने परम्परा रहेको छ। प्रचलनअनुसार विजया दशमीको पहिलो दिन एक वर्षदेखि क्रमशः नौ वर्ष उमेर समूहसम्मका कन्याहरूको पूजा गरिन्छ। यद्यपि हाल सहजताका लागि महानवमीको दिन एकैपटक नवकन्याहरूको पूजा गर्ने चलन बढ्दो छ।
यसै धार्मिक र सांस्कृतिक परम्पराको सम्मानस्वरूप राष्ट्रपति पौडेलले आज नवकन्या पूजन गरेका हुन्। शीतलनिवासमा आयोजित पूजामा राष्ट्रपति दम्पतीसहित धार्मिक विधिपूर्वक कार्यक्रम सम्पन्न गरिएको थियो।