
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले महानवमीको दिन बीपी राजमार्गको निरीक्षण गरेका छन्। चाडपर्वका बेला यात्रुहरूले भोग्ने समस्या, ट्राफिक व्यवस्थापन तथा बाढीले क्षतिग्रस्त सडकको पुनर्निर्माण अवस्थाबारे बुझ्न मन्त्री स्वयं सडक विभागका महानिर्देशकसहित फिल्डमा खटिएका हुन्।
१६० किमी लामो बीपी राजमार्गमध्ये गत वर्षको बाढीले ३०.५ किमी सडक क्षतिग्रस्त पारेको थियो। हाल २५ किमी सडकखण्डमा ठेक्का सम्झौतासहित पुनर्निर्माण कार्य अघि बढेको छ भने बाँकी २.५ किमी जापान सरकार (जाइका) को अनुदानमा बन्नेछ।
मन्त्री घिसिङले चाडपर्वमा ट्राफिक सहज बनाउन अस्थायी उपायहरू चुस्त राख्न निर्देशन दिँदै स्थायी पुनर्निर्माण कार्य छिटो सम्पन्न गर्न आग्रह गरेका छन्। दशैंपछि तीव्र गतिमा काम सुरु गर्ने तयारी भइरहेको उनले जानकारी दिए। त्यस्तै, भारी वर्षाको पूर्वानुमान रहेकोले सुरक्षितरूपमा यात्रा गर्न समेत मन्त्री घिसिङले यात्रुहरूलाई आग्रह गरेका छन्।