काठमाण्डौँ , असोज ४ :

भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश, २०७७ स्वीकृत भएसँगै कर्मचारी पदपूर्ति प्रक्रिया सुनिश्चित हुने भएको छ ।
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको गठन आदेशसम्बन्धी संशोधन प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि कर्मचारी स्थायी प्रक्रियाका लागि बाटो खुलेको छ  ।
 
क्यान्सर अस्पताल गठन आदेश पहिलो संशोधन २०८१ स्वीकृत भएको जानकारी दिँदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कर्मचारीको वृत्ति विकासमा लामो समयदेखि देखिएको समस्या सम्बोधन हुने बताउनुभयो ।

अस्पतालको सेवा सहज र व्यवस्थित ढङ्गबाट अघि बढी क्यान्सर पीडितले राहत पाउने सुनिश्चित भएको उहाँको भनाई छ ।
 
यसअघि नेपाल अर्बुद रोग निवारण संस्थाबाट सरकारले आफैँ सञ्चालन गरेको अस्पतालका ३०० बढी कर्मचारी ऐन संशोधनको अभावमा आवश्यक नियमावली बन्न नसक्दा वृत्तिविकासबाट वञ्चित हुँदै आएको उल्लेख मन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयको संशोधन प्रस्ताव स्वीकृत भएसँगै कर्मचारीको वृत्तिविकास लगायतका समस्या समाधान भएको बताउनुभयो ।
 
सरकारले अस्पतालको स्वामित्व ग्रहण गर्नुअघि स्थायी कर्मचारीलाई २०७७ को गठन आदेशले करारमा राख्ने व्यवस्था गरेको थियो । 

गठन आदेश स्वीकृत भएपछि यसअघि स्थायी भएर पनि करारमा परिणत भएका कर्मचारी अब स्थायी हुनेछन् । साथै, नयाँ बन्ने नियमावली एवं विनियमावली अनुसार करार सहित आवश्यक जनशक्ति लोक सेवा आयोग मार्फत स्थायी हुने बाटो समेत खुलेको छ ।