
कागेश्वरी मनोहरा नगरपालिका–६, मुलपानीस्थित नगर अस्पताल अब १०० शय्यामा स्तरउन्नति हुने भएको छ। बागमती प्रदेश सरकारले १०० शय्याको जनरल अस्पतालको प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन स्वीकृत गरेकोसँगै मुलपानीस्थित नगर अस्पताल अब १०० शय्यामा स्तरउन्नति हुने भएको हो।
प्रदेश सरकारको सम्बन्धित मन्त्रालयले २०८२ चैत २६ गते उक्त प्रतिवेदन ११ बुँदे शर्तसहित स्वीकृत गरेको जनाएको छ। यसअघि समितिको बैठकले चैत २५ गते प्रतिवेदनमाथि छलफल गरी स्वीकृतिका लागि सिफारिस गरेको थियो।
स्वीकृत शर्तअनुसार अस्पताल सञ्चालनका क्रममा निस्कने स्वास्थ्यजन्य फोहोर स्रोतमै वर्गीकरण गर्नुपर्नेछ। संक्रमणजन्य तथा हानिकारक फोहोरलाई निष्क्रिय बनाएपछि मात्र व्यवस्थापन गर्न पाइनेछ। त्यस्तै, वातावरणीय प्रभाव न्यूनीकरणका लागि प्रतिवेदनमा उल्लेखित सबै कार्यक्रम अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्नेछ।
अस्पतालबाट निस्कने तरल फोहोर प्रशोधनका लागि ‘वेस्ट वाटर ट्रीटमेन्ट’ प्रणाली जडान गर्नुपर्नेछ भने प्रशोधन नगरी सिधै ढलमा फाल्न नपाइने व्यवस्था गरिएको छ। साथै, भूमिगत पानी प्रयोग गर्नुअघि अनुमति लिनुपर्ने र वर्षा पानी संकलन प्रणाली जडान गर्नुपर्नेछ।
यससँगै नियमित वातावरणीय अनुगमन, स्वास्थ्यसम्बन्धी मापदण्डको पालना, भवन निर्माण आचारसंहिताको कार्यान्वयन तथा विपद् जोखिम न्यूनीकरण योजना लागू गर्नुपर्ने प्रावधान पनि राखिएका छन्। मन्त्रालयले प्रचलित कानुन तथा निर्देशनहरूको पूर्ण पालना गर्दै मात्र अस्पताल सञ्चालन गर्नुपर्ने स्पष्ट गरेको छ।
हाल १५ शय्याको रूपमा स्वीकृति पाएको उक्त नगर अस्पतालमा दैनिक करिब १२ सय सेवाग्राहीले सेवा लिँदै आएका छन्। सेवाग्राहीको बढ्दो चापका कारण नगरपालिकाले स्तरउन्नतिको प्रस्ताव अघि सारेको थियो।
नगरप्रमुख उपेन्द्र कार्कीले निर्वाचनमा गरिएको प्रतिबद्धताअनुसार अस्पताललाई १०० शय्यामा विस्तार गर्न लागिएको र यसबाट विशेषज्ञ सेवा, अप्रेसन थियटर लगायत सुविधा थपिने बताएका छन्।
यस्ता छन् ११ सर्त :
१. अस्पताल सञ्चालनको क्रममा उत्पन्न हुने स्वास्थ्य सेवा जन्य फोहोरहरु श्रोतमा वर्गिकरण गरी संक्रमणजन्य र हानिकारक फोहोरलाई संक्रमण-मुक्त/ हानिरहित बनाएर मात्र फोहोर व्यवस्थापन गर्ने व्यवस्था मिलाउने ।
२. प्रतिवेदनमा उल्लेख भएका सकारात्मक वातावरणीय प्रभावलाई बढोत्तरी तथा नकारात्मक वातावरणीय प्रभाव न्यूनीकरणका लागि प्रस्तावित सम्पुर्ण क्रियाकलापहरु कार्यान्वयन गर्ने।
३. वातावरणीय प्रभाव व्यवस्थापनका लागि प्रतिवेदनमा प्रस्ताव गरिएका सूचकका आधारमा नियमित अनुगमन गरी/गराई सो को प्रतिवेदन सम्बन्धित निकायमा नियमित रुपमा पेश गर्ने ।
४. वातावरण संरक्षणका सन्दर्भमा नेपाल सरकार र प्रदेश सरकारका कार्यालय तथा निकायहरुबाट जारी भएका विभिन्न निर्देशन तथा परिपत्रहरु पालना गर्ने ।
५. Waste Water Treatment Facility राखी अस्पतालबाट निष्कासित हुने तरल फोहोरलाई उपचार गरेर मात्र Drainage मा पठाउने व्यवस्था गर्ने।
६. भूमिगत पानी प्रयोग गर्न सम्बन्धित निकायको अनुमति प्राप्त गर्नुपर्ने ।
७. Rain Water Harvesting System, Water Recharge Pit को व्यवस्था गर्नुपर्ने ।
८. स्वास्थ्य क्षेत्र सम्बन्धि विद्यमान विभिन्न निर्देशिका, मापदण्डहरुको पालना गरी आयोजना सञ्चालन गर्नु पर्नेछ । ९. भवन निर्माण सम्बन्धि आचार संहिताको पालना गरी भवन निर्माण कार्य गर्नुपर्ने ।
१०. आयोजना सञ्चालनको क्रममा Disaster Risk Reduction Plan बनाई लागू गर्नुपर्ने । ११. प्रचलित ऐनहरुले गर्नुपर्ने भनि उल्लेख भएका सम्पूर्ण क्रियाकलापहरु नियमानुसार गर्ने ।