भक्तपुर, असोज २४ :

नेकपा एमालेले अन्तरिम सरकार निर्वाचन गराउने बाटोमा नभइ मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मुठभेडतिर लैजान उद्यत रहेको निष्कर्ष निकालेको छ ।शुक्रबार गुण्डुमा बसेको पार्टीको सचिवालय बैठकमा बोल्दै पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले यस्तो बताएका हुन् । 

उनले यसको अविलम्व अन्त्य गरी सिंगो देशलाई एक ठाउँमा उभ्याउने वातावरण निर्माण हुनुपर्ने बताए । पार्टीले छिटै महाधिवेशन गरेर महाधिवेशनको माध्यमबाट अहिले उठेका सबै प्रश्नको जवाफ दिने बताए । पार्टीलाई नयाँ ढंगले अघि बढाउन छिटै महाधिवेशन गर्नेबारे छलफल भएको जानकारी दिए ।

मुलुकलाई विभाजित भएको मनिस्थितिलाई जोडेर राष्ट्रिय एकता कायम गर्नेगरी सबै राजनीतिक दलहरुसँग मिलेर एकसाथ अघि बढ्नुपर्ने भएपनि वर्तमान सरकारले त्यसो नगरेको बताए । सरकार दलहरुलाई साथ लिने नभइ निषेधको बाटोमा गएको बताए । सरकारमा रहेका मानिसहरु र सरकार बनायौँ भन्नेहरु हिंसाको भाषा बोलिरहेको र राजनीतिक नेताहरुमाथि भौतिक आक्रमणको धम्की आइरहेको बताए । प्रहरीलाई कुटीकुटी हत्या गर्ने र प्रहरीका हतियार लुट्नेहरुलाई गृहमन्त्रीको दबाबमा सहजै छोडिदिने र शान्तिपूर्ण ढंगले गतिविधि गर्न राजनीतिक पार्टीहरुलाई रोक लगाएकोप्रति एमाले गम्भीर रहेको बताए । नेताहरुलाई स्थानहद तोक्ने कुरा पनि गलत भएको बताए ।

बैठक शनिबार बिहान ११ बजेबाट पुनः शुरु हुने बताए । बैठकमा जेन जी आन्दोलनको पृष्ठभूमि, अन्तर्य र परिणामबारे सघन छलफल गरेको बताए । उनले वर्तमान सरकारले गरेका क्रियाकलापबारे पनि छलफल गरिएको बताए । उनले भदौ २३ गते जेन जी युवाहरुले राखेका आवाजहरु स्वभाविक रहेको र शान्तिपूर्ण आन्दोलन गर्ने र सुशासन, भ्रष्टाचार नियन्त्रण गर्न सरकारलाई दबाब सिर्जना गर्ने भनेर आन्दोलन गरिएको बताए । तर शान्तिपूर्ण आन्दोलनभित्र घुसपैठ गराएपछि यो घटना भएको बताए ।