सुनसरी, असोज २५ :

सुनसरीको रामधुनी नगरपालिका–२ मा गोली प्रहार गरी एक व्यक्तिको हत्या गरिएको छ। शनिबार साँझ रामधुनी कर्मन्या टोलस्थित भित्री सडकमा अन्दाजी ४७ वर्षीय स्थानीय दिनेश चौधरीको गोली हानी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

स्थानीयका अनुसार चौधरी एक सफारी सवारी चालक थिए। उनीमाथि मोटरसाइकलमा आएका युवाहरूको समूहले गोली प्रहार गरेको बताइएको छ। गोली लागेर गम्भीर घाइते भएका चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

प्रहरीका अनुसार गोली प्रहारपछि फरार भएका युवाहरूको समूहको खोजी तीव्र पारिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।