
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को सम्पत्तिबारे तयार पारिएको खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरिएको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा तयार पारिएको सो प्रतिवेदनलाई हालका शिक्षामन्त्री महावीर पुनले सार्वजनिक गरेका हुन्।
पूर्वसचिव महेन्द्रकुमार थापाको संयोजकत्वमा बनेको समितिले तयार पारेको १८८ पृष्ठको प्रतिवेदनमा त्रिविसँग हाल ५,०५० रोपनी जग्गा रहेको उल्लेख छ। तर, तीमध्ये करिब ८४३ रोपनी जग्गा विभिन्न २१ संस्था र समूहले अतिक्रमण तथा भोगचलन गर्दै आएको पाइएको छ।
प्रतिवेदनअनुसार, लयाब स्कुल, राधास्वामी सत्संग व्यास नेपाल, त्रिवि प्राध्यापक संघ, नेपाल नेत्रज्योति संघ, नेपाल क्रिकेट संघ, नेपाल विद्युत् प्राधिकरण, प्रहरी कार्यालयहरू, बैंकहरू, र कीर्तिपुर नगरपालिका समेतले त्रिविको जग्गा प्रयोग गरिरहेका छन्।
प्रतिवेदनले प्रधानमन्त्री र शिक्षामन्त्रीले त्रिविमा आआफ्नो भूमिकाअनुसार जिम्मेवारी नलिएर जग्गा संरक्षणप्रति उदासीनता देखाएको पनि औँल्याएको छ। त्रिविले पटक–पटक दर्ता, स्वामित्व हस्तान्तरण र अद्यावधिकको लागि अनुरोध गर्दा पनि शिक्षा मन्त्रालयबाट सहयोग नगरेको उल्लेख गरिएको छ।