काठमाडौं, असोज २६ :

सीके राउत नेतृत्वको जनमत पार्टी औपचारिक रूपमा विभाजित भएको छ। पार्टीका उपाध्यक्ष दीपक साहको नेतृत्वमा करिब २० प्रतिशत केन्द्रीय कार्यकारिणी सदस्यले पार्टीबाट अलग हुँदै ‘जनस्वराज पार्टी’ नामक नयाँ राजनीतिक दल दर्ता प्रक्रिया सुरु गरेका छन्।

साहसहितको समूहले आइतबार निर्वाचन आयोग पुगेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका हुन्। ५२ सदस्यीय कार्यकारिणी रहेको जनमत पार्टीबाट १५ जना सदस्य छुट्टिएर नयाँ दलमा लागेको बताइएको छ।

नयाँ पार्टीमा ई. सुरेन्द्र नारायण यादव, हेमलता रजक, शम्भुनाथ साहलगायत नेताहरु सक्रिय छन्। यसअघि नै उपाध्यक्ष अब्दुल खानले पनि पार्टी परित्याग गरिसकेका थिए।

पार्टी विभाजनको कारण आन्तरिक असन्तुष्टि र अध्यक्ष सीके राउतको कठोर अनुशासन शैलीलाई मानिन्छ।अध्यक्ष राउतले पार्टीभित्रका असन्तुष्ट नेताहरूमाथि आरोप लगाउँदै स्पष्टिकरण सोध्ने, निलम्बन र निष्कासन गर्ने कदम चालेपछि असन्तुष्ट नेता संगठित भएर नयाँ दल दर्ता गर्न पुगेका हुन्।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा ६ सिट जितेर राष्ट्रिय पार्टी बनेको जनमत पार्टीका नेता सतिशकुमार सिंहले हाल मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेका छन्।