काठमाडौं, असोज २८ :

फरेन्सिक परीक्षणबाट इजरायलमा हमासको आक्रमणपछि वेपत्ता भएका नेपाली युवा विपिन जोशीको शव पुष्टि भएको छ। इजरायली सेनाले सोमबार राति हमासबाट प्राप्त चार शवमध्ये एक शव विपिनको रहेको पुष्टि गरेको हो।

इजरायली सेनाका अनुसार तेलअभिभस्थित अबु काबिर फरेन्सिक संस्थानले परीक्षणपछि चारै शवको पहिचान गरेको हो। सेनाले मृतकको परिवारलाई शव पहिचानसम्बन्धी जानकारी औपचारिक रूपमा दिएको छ।

विपिनका दाजु किशोर जोशीले शव पहिचान भएको पुष्टि गर्दै भने, ‘विपिनको शव पहिचान भएको खबर पाएका छौं। तर नेपाल कहिले आउँछ भन्ने मिति दिएका छैनन्। आवश्यक प्रक्रिया पूरा भएपछि खबर गर्छौं भनेका छन्।’

विपिन ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल गएका थिए। २०२३ अक्टोबर ७ मा हमासको आक्रमणका बेला उनले काम गरिरहेको अलुमिम किबुजबाट बन्धक बनाएर लगिएको थियो।

हमासको उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो। विपिनलाई अस्पतालभित्र टाउको छोपेर लैजाँदै गरेको भिडियो सार्वजनिक भए पनि त्यसयता उनको अवस्थाबारे कुनै जानकारी प्राप्त भएको थिएन।

इजरायली सेनाले विपिनलाई गाजामा कैद गरिएको अवस्थामा युद्धको पहिलो महिनामै हत्या गरिएको दाबी गरेको छ। तर हमासले भने इजरायली हवाई आक्रमणका क्रममा विपिनको मृत्यु भएको दाबी गर्दै आएको छ।

रिपोर्ट आएको हुँदा जोसीको शव नेपाल पठाउने प्रक्रिया सुरु हुनेछ । इजरायल सरकारले नै कफिनमा बन्द गरेर शव नेपाल पठाइदिने छ । त्यसका लागि अझै केही दिन लाग्ने अनुमान छ ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासको आक्रमणका क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरू मारिएका थिए भने हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए ।