काठमाडौं, असोज २९ :

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै नेकपा (एमाले) ले देशव्यापी निर्णायक आन्दोलनको तयारी थालेको छ।

ललितपुरको भनिमण्डलमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा जनआन्दोलनको आवश्यकता औंल्याउँदै संविधान र लोकतन्त्रको पक्षमा सबैलाई साथ दिन आह्वान गरिएको छ।

प्रतिवेदनको १४औं बुँदामा भनिएको छ, ‘सरकारको संरक्षणमा भइरहेका ज्यादती र उल्टो गतिका विरुद्ध एवं विघटित प्रतिनिधिसभाको पुनस्र्थापना गर्दै देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन जनआन्दोलनको विकल्प नरहेको हाम्रो पार्टीको निष्कर्ष छ।’

ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा जनपरिचालन र जनआन्दोलनका कार्यक्रम तय गर्दै अघि बढ्न सम्पूर्ण पार्टी पंक्ति, लोकतान्त्रिक शक्तिहरू र आम नागरिकलाई आह्वान गरिएको छ।

बैठकमा अध्यक्ष ओलीले ११औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने प्रस्ताव पनि पेस गरेका छन्। उक्त प्रस्तावमाथि छलफलपछि केन्द्रीय कमिटीले निर्णय गर्नेछ।

हाल पार्टीभित्र अध्यक्ष ओलीको नेतृत्वलाई लिएर उठेका सवालहरूप्रति उनले स्पष्ट प्रतिक्रिया दिएका छन्। “कोही फेसबुकमा लेख्दैमा पद जाँदैन,” ओलीले बैठकमा भनाइ उद्धृत गर्दै भनेका छन्, “केन्द्रीय कमिटी र महाधिवेशनले निर्णय गरेमात्रै म पद छाड्छु।”

एमालेभित्र अध्यक्ष परिवर्तनको चर्को बहस चलिरहेको बेला ओलीको यो धारणा महत्वपूर्ण मानिएको छ।एमालेको केन्द्रीय कमिटी बैठक आगामी असोज ३१ गतेसम्म चल्नेछ।