
प्रधानमन्त्री सुशीला कार्कीले हमासबाट हत्या गरिएका नेपाली युवक विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै पनि बिर्सन नसक्ने बताएकी छिन् ।
दुई वर्षदेखि बेपत्ता रहेका जोशीको हत्याको खबरले गहिरो दुःख व्यक्त गरेकी छन्।
बुधबार जारी शोक वक्तव्यमार्फत उनले विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्दै जोशीको आत्माको चिरशान्तिको कामना गरेकी हुन्। प्रधानमन्त्री कार्कीले भनिन्, ‘उहाँको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सने छैन।’
जोशीको मृत्युको समाचारले आफू स्तब्ध भएको उल्लेख गर्दै प्रधानमन्त्रीले यो हृदयविदारक घडीमा शोकाकुल परिवारजन, आफन्त तथा मित्रजनमा गहिरो समवेदना प्रकट गरेकी छन्।
वक्तव्यमा भनिएको छ, ‘दुई वर्षदेखि बन्धकमुक्त हुने अटुट आशा र सामूहिक प्रार्थनाबीच आएको विपिनको मृत्युको समाचारले हामी सबैलाई गहिरो पीडा दिएको छ।’
प्रधानमन्त्री कार्कीले विपिन जोशीलाई केवल एक विद्यार्थी नभई विदेशमा अध्ययनरत हजारौं नेपाली युवाको प्रतिनिधिका रूपमा चित्रित गरेकी छन्। ‘उहाँको जीवन उत्साह, लगनशीलता र सहयोगी स्वभावले भरिएको थियो,’उनले भनेकी छन्, ‘हामी उहाँ सकुशल फर्किएर नेपालको विकासमा योगदान दिने अपेक्षामा थियौं।’
जोशी अन्तर्राष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बन्नुपरेको उल्लेख गर्दै प्रधानमन्त्रीले भनिन्, ‘शान्तिप्रेमी नेपाल राष्ट्रको एक होनहार सन्तानले यसरी ज्यान गुमाउनु अत्यन्त पीडादायी छ। उहाँको अपहरणपछि सरकार र सम्पूर्ण नेपाली जनता उहाँको सुरक्षित रिहाइका लागि एकचित्तले कामना गरिरहेका थिए।’
प्रधानमन्त्रीले जोशीले बन्धक हुनुपूर्वका अन्तिम क्षणमा देखाएको साहस र त्यागले अन्य कैयौं साथीहरूको ज्यान जोगिएको उल्लेख गर्दै भनिन्, ‘उहाँको यो वीरतापूर्ण कार्य उहाँको जीवनको सबैभन्दा ठूलो विरासत हो, जसले उहाँलाई सधैं नेपाली गौरवको प्रतीकका रूपमा जीवित राख्नेछ।’
सरकारले विपिन जोशीको निधनप्रति शोक व्यक्त गर्दै उनका योगदानलाई सदैव सम्मानपूर्वक सम्झिरहने प्रतिबद्धता जनाएको छ।